काठमाडौं : आइतबार राति आएको हावाहुरीले बारा–पर्सामा गरेको क्षतिको पूर्वजानकारी आउन नसक्नुको प्रमुख कारण माैसम विभागको पुरानै संरचना भएकालाई माैसमविद्हरुले मानेका छन् ।
जल तथा माैसम विज्ञान विभागका माैसमविद् वरुण पौडेल भन्छन्, ‘२०४४ सालकै संरचना तथा जनशक्ति अनुसार नै यस महाशाखा सञ्चालित छ ।’
क्षेत्रगत माैसम जाँच्ने केन्द्र नहुँदा पनि पूर्वानुमान गर्न गाह्रो भएको उनी बताउँछन् । नेपाल सानो छ, तर भौगोलिक अवस्थामा विविधता छ । यसकारण पनि माैसमको पूर्वानुमान गर्न गाह्रो भएको पौडेल बताउँछन् ।
उपत्यकाकै कुरा गर्ने हो भने बाटोको वारि पानी परिरहेको हुन्छ, पारि घाम लाग्छ । यस्तो भू–बनावटको अवस्थामा माैसम पूर्वानुमानका लागि आधुनिक प्रणाली अपनाउनुपर्ने उनी सुझाव दिन्छन् ।
‘बारा–पर्साकै कुरा गर्दा पनि मध्य तराईमा माैसम जाँच्ने संयन्त्र नभएरै हो’, अर्की माैसमविद् गंगा नगरकोटी भन्छिन्, ‘हुन त सर्वेक्षण भइसकेको अवस्था छ । तर, राखिहालेको भने छैन ।’ बारा–पर्सा क्षेत्रमै यस्तो हुन्छ भन्ने त थिएन, तर पूर्वी तथा मध्य क्षेत्रमा मेघ गर्जनसहित भाह्री वर्षा हुन्छ भन्ने चाँहि थाहा भएको नगरकोटी बताउँछिन् । आजको न्युजसँग कुरा गर्दै उनी भन्छिन्, ‘बारा–पर्सामा ९० किलोमिटर प्रतिघन्टाको स्पिडले आएको त्यो हावाहुरीबारे थाहा पाउन गाह्रो हुन्छ ।’
नगरकोटीका अनुसार माैसम विज्ञान विभागले जारी गर्ने माध्यम ट्वीटर, फेसबुक र वेबसाइट मात्रै हो । स्थानीयस्तरमा सीधै पुग्ने अवस्था नभएकले पनि कतिपय ठाउँमा थाहा हुँदाहुँदै पनि सन्देश पुर्याउन नसकिएको उनी बताउँछिन् ।
माैसमविद्हरुका अनुसार हावाहुरीले मान्छे मार्ने होइन, त्यहाँ निर्मित संरचनाले हो । त्यसकारण यस्ता संरचना दह्रो बनाउन पनि उनीहरू सल्लाह दिन्छन् । ‘राजधानीकै कुरा गर्दा यहाँका संरचनाको अवलोकन गर्न सकिन्छ’, नगरकोटी भन्छिन्’, ‘राजधानीमा राखिएका होडिङ बोर्ड, खाने पानीका ट्यांकीहरू असुरक्षित छन् । विगतमा भएका भूकम्पका घटना केलाउँदा बढी दुर्घटना यस्तै असुरक्षित संरचनाका काराण नै भएका थिए । यसबाट पाठ सिक्नुपर्छ ।’
एक मात्र राडार डेढ महिनादेखि बन्द
नेपालमा भएको एक मात्र राडार सुर्खेतमा छ । त्यो पनि बिग्रिएको डेढ महिना भइसकेको जल तथा माैसम विज्ञान विभागले जनाएको छ । यसको मर्मत समयमै नगरिँदा फेरि यस्ता घटना हुने सम्भावना बढी हुने त्रिभुवन विमानस्थलमा रहेको माैसम पूर्वानुमान महाशाखाकी माैसमविद् गंगा नगरकोटीले बताइन् । उनका अनुसार यस्ता राडार नेपालमा कम्तीमा तीन वटा हुनुपर्छ । सुर्खेतमा भएको राडार सञ्चालनमा आए पनि त्यसले पोखरासम्मलाई कभर गर्न सक्छ ।
राडार जडान भएकाे भए कम्तीमा बारा–पर्सा क्षेत्रमा भएको घटनालाई कभर गर्न सकिन्थ्यो । किनभने राडारले तीन घण्टापूर्व नै माैसमबारे जानकारी दिन्छ । राडारबाट नौकास्टिङ भए माैसमको अवस्था कताबाट मुभ भइरहेको छ त्यसलाई पनि अवलोकन गर्न सकिने उनी बताउँछिन् । पूर्व र मध्य भागमा राडार जडानबारे कुरा चलिरहेको भए पनि कहिलेसम्म हुन्छ भन्ने यकिन नभएको उनी बताउँछिन् ।
चाँडै माैसम टिभी
जल तथा माैसम विज्ञान विभागमा नयाँ संरचना बन्ने क्रममा छ । ‘यसको मुख्य उद्देश्य माैसम भिटी सञ्चालन गर्नु हो’, माैसमविद् नगरकोटी भन्छिन्, ‘राडारसहितको टिभी सञ्चालनमा आए, धेरै राम्रो हुने छ ।’ कहिलेसम्म सञ्चालनमा आउने यकिन भने भइनसकेको उनी बताउँछिन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको माैसम पूर्वानुमान महाशाखाले विमानस्थलमा आवतजावत हुने विमानलाई, सर्वसाधारण तथा कृषि माैसमको सूचना दिँदै आएको छ ।
प्रकाशित मिति: मंगलबार, चैत १९, २०७५