काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी एकीकरण प्रक्रियाको अन्तिम टुङ्गो लागिसकेको केन्द्रीय सदस्य तथा सांसद राजेन्द्र गौतमले बताएका छन् । आजको न्युजसँग कुराकानी गर्दै सांसद गौतमले भने, ‘२०७४ जेठ ३ गते सुरु भएको पार्टी एकताको टुङ्गो आज साँझ नेकपाको सचिवालयको बैठकले लगाउनेछ ।’
७७ जिल्लामध्ये ४५ पूर्वएमाले तथा ३२ पूर्वमाओवादीका लागि छुट्याइएको उनले जानकारी दिए । यसको अर्थ हेर्दा ५८/४२ प्रतिशतको अनुपातमा कुरा मिलेको गौतमले जानकारी दिए । पार्टी एकीकरणको प्रश्न भनेको कुनै एउटा प्राविधिक र गणितीय प्रश्न मात्र नभएको गौतम बताउँछन् । भन्छन्, ‘यो एउटा राजनीतिक, वैचारिक र सैद्धान्तिक विषय पनि हो । पार्टी एकीकरण जसरी हुन्छ भन्ने थियो, त्यो भएन । तर पार्टीको स्थापना दिवस अर्थात् वैशाख ९ गते यो विषयको अन्त्य हुन्छ ।’
गौतमका अनुसार केन्द्रीय समिति, स्थायी समिति, प्रदेश, गाउँ र नगर समिति एकीकरण प्रक्रिया पूरा भइसकेको छ । यसको नामावली सार्वजनिक हुन मात्रै बाँकी रहेको उनको भनाइ छ । पार्टीको हेडक्वार्टर, जिल्लाका अध्यक्ष, सचिव तथा इन्चार्ज, सहइन्चार्जको औपचारिक घोषणा गरिसकेपछि एकीकरणको काम ९० प्रतिशत सकिने उनी बताउँछन् ।
गौतमका अनुसार पार्टीमा अहिले विचार र सिद्धान्तको बहस छैन । ‘पहिलो कुरा त यो पार्टीमा कुनै विचार, सिद्धान्तका कुरा नहुँदा दुःख लाग्छ । पार्टीमा सत्ता कब्जा कसरी गर्ने भन्नेमा विवाद बढी केन्द्रित छ’, गौतम भन्छन्, ‘आफ्नो मान्छेलाई कसरी पहुँचमा पुर्याउने भन्नेतर्फ लागेका छन् । दलाल बनाएर ठाउँमा पुर्याउनेतर्फ मात्रै लागेका छन् । यो पार्टी र आन्दोलनकै निम्ति पनि राम्रो होइन ।’दुई अध्यक्षले ल्याएका प्रस्तावलाई पार्टी एकीकरणपछि केन्द्रीय कमिटीबाट अनुमोदन गर्ने प्रधानमन्त्रीले भनिसकेको जानकारी दिँदै गौतमले भने, ‘लामो परामर्शपछि जिल्ला तहको नेतृत्व छानिएको छ । जिल्ला र प्रदेश स्तरमा बहस भइसकेको छ ।’
चुनावताका पार्टीलाई असहयोग गर्नेहरू र पहिले केन्द्रीय स्तर तथा सरकारमा भएकाहरूको विकल्पमा नेतृत्व छनोट गरेको दाबी गौतम गर्छन् । हिजो कसले के काम गर्यो, निर्वाचनमा कसको भूमिका के थियो भन्ने आधारमा ठोस प्रस्ताव गएको उनी बताउँछन् ।
वरिष्ठ नेताहरू प्रदेशमा गएर गहन छलफल गरेर नामहरू छनोट गरेका उनको भनाइ छ । अध्यक्ष, सचिव तथा इन्चार्ज, सहइन्चार्जमध्ये एक न एक जना दुवै पार्टीका व्यक्ति पर्ने भएको हुँदा पनि विवादले खासै चर्को रूप नलिने गौतमको आँकलन छ । भन्छन्, ‘पूर्वमाओवादी केन्द्र र पूर्वएमाले आँखाबाट हेर्दा विवाद धेरै छन् तर नेकपाको आँखाबाट हेर्दा विवाद कतै देखिँदैन ।’
माधवकुमार नेपाल र केपी शर्मा ओलीबीच भागवण्डा विवाद नभएको गौतम दाबी गर्छन् । ‘सबै पार्टीका वरिष्ठ नेताबीच केही न केही बहस त भइहाल्छ, यो घरको झगडा मिलाएजस्तो होइन’, गौतमको भनाइ छ । समान अवसर पायो वा पाएन भन्ने मुख्य कुरा भएको गौतम बताउँछन् । पार्टीका नेताहरूबीच प्रतिशतमा भागवण्डा नहुने, केही जिल्लामा माग दाबी हुनु भनेको स्वाभाविक भएको उनको भनाइ छ । ‘दुई चार जिल्लामा तलमाथि हुनसक्छ’, उनी भन्छन्, ‘यो ठूलो विषय होइन ।’
प्रकाशित मिति: आइतबार, वैशाख ८, २०७६