काठमाडौं:सरकारले बारा र पर्साका प्राकृतिक विपद्मा घाइतेहरुको उपचारको सम्पूर्ण व्यवस्था मिलाउने भएको छ । त्यस्तै, सरकारले प्रभावितहरुको उद्धार राहत, उपचार एंवम् खाद्यान्न र बसोबासको प्रबन्ध मिलाउन गृहमन्त्रालयलाई निर्देशन दिएको छ ।
सोमबार साँँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रीपरिषद् बैठकले दुखद परिस्थितिमा प्रशासनिक निकाय, सुरक्षा अंग, स्थानीय तह, नीजी क्षेत्र , सामाजिक तथा गैरसरकारी संस्थाहरुलाई समन्वयात्मक रुपमा परिचालन गरि विपत प्रभावितहरुको उद्धार, राहत, उपचार एंवम् खाद्यान्न र बसोबासको प्रबन्ध मिलाउन गृहमन्त्रालयलाई निर्देशन दिएको हो । त्यस्तै बैठकले घाईतेहरुको उपचारमा कुनै कमि कमजोरी हुन नदिने, घाईते भई अपाङ्ग तथा अशक्त हुनेहरु तथा तथा मृतकका परिवारका सदस्यहरुलाई सरकारले यथोचित व्यवस्था गर्ने, प्रभावित क्षेत्रमा कुनै पनि रोगको प्रकोप फैलन नदिन औषधि उपकरण सहितको थप स्वास्थ्यकर्मीहरुको टोली तुरुन्त परिचालन गर्ने निर्णय पनि बैठकले गरेको छ । विपत प्रभावित क्षेत्रमा विद्युत् , खानेपानी , सञ्चार लगायतका अत्यावश्यक सेवाहरु सुचारु गराउन र थप क्षति हुन नदिन सम्बन्धित क्षेत्रहरुले पुर्ण सर्तकता अपनाउने साथै त्यसका लागि आवश्यक कदम चाल्ने निर्णय पनि गरेको छ ।
त्यसैगरी, गृह मन्त्रालयको समन्वयनमा विपद बाट भएको क्षतिको विवरण यथाशीघ्र तयार गर्ने, मूल्यांकन गर्ने तथ्य र विवरण सहितको यथार्थ परिस्थिति स्पष्ट भइसकेपछि पुनर्स्थापना तथा पुननिर्माण लगायतका आवश्यक विषयका सम्बन्धमा थप निर्णय गर्ने निर्णय समेत बैठकले गरेको छ । बैठकले २७ जनाको मृत्यु भएको ६ सय १३ जना घाईते र ठूलो आर्थिक क्षति भएको भन्दै मृतकप्रति श्रद्धासुमन अर्पण गर्दै शोक प्रकट गरेको छ । त्यसैगरी प्रभावित शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदन प्रकट गर्दै घाईतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।
प्रकाशित मिति: सोमबार, चैत १८, २०७५