काठमाडौं : भक्तपुर कौशलटारमा भाडामा बस्दै आएकी छन्, विमला थापा । दुई छोराछोरी र श्रीमान्का साथमा बस्दै आएकी उनलाई त्यस क्षेत्रमा नचिन्ने कमै होलान् । कारण धेरै होलान् तर उनले बिक्री गर्ने सागका कारण उनी अलिक लोकप्रिय छन् । प्रायजसो उनी साग बिक्री गर्दा केलाएर दिने गर्छिन् ।
बालकोट, कौशलटारलगायतका क्षेत्रबाट साग संकलन गर्छिन् उनी । त्यसपछि साग लिएर उनी बानेश्वर क्याम्पस नजिकैको तरकारी बजारमा पुग्छिन् । मागअनुसार साग व्यापारीलाई दिने गर्छिन् । त्यसपछि उनी शान्तिनगर हुँदै उत्तर मोडिन्छिन् । त्यो उनको दैनिकी नै हो । प्रायः एउटै बाटोमा हिँडे पनि कहिलेकाहीँ बाटो फेर्छिन् । त्यसमध्ये केही त्यस्ता स्टेशन पनि बनाएकी छन्, जहाँ उनी साग बिक्री गर्छिन् ।
शनिबार कात्यायनी चोक नजिकै रहेको आनन्द पार्टी भेन्यु नजिकैको खाजा पसलमा भेटिइन् विमला । त्यहाँ उनले साग केलाएरै बिक्री गर्दै थिइन् । कतिपय ठाउँमा साग राम्रो भएन भन्ने गुनासाे आउन थालेपछि उनले आफ्नो व्यापारिक ढाँचा केही परिवर्तन गरेकी हुन् । साग केलाउँदै गर्दा भेटिएकी उनी भन्छिन्, ‘साग बिक्री गर्दा कतिपय व्यक्तिहरूले साग राम्रो नहुने गुनासो गर्छन् । त्यही भएर धेरै ठाउँमा साग केलाएरै दिन्छु ।’
१५ रुपैँयादेखि माथि बजारको मागअनुसार सागको मूल्य निर्धारण हुने उनी बताउँछिन् । फुर्सद हुँदासम्म केलाएर दिने विमला भन्छिन्, ‘दैनिक तीनदेखि पाँच सय रुपैँयासम्म कमाइ हुन्छ ।’ उनकै कमाइकै हाराहारीमा श्रीमान्ले पनि कमाउने बिमला बताउँछिन् । घरको खर्च धान्नमा उनको पनि निकै ठूलो मिहिनेत छ ।
सामान्यतया घरखर्चको जिम्मेवारी श्रीमान्को हुने गर्छ तर थापा परिवारमा त्यस्तो छैन । घर खर्चमा श्रीमान् जत्तिकै योगदान उनले पनि गरेकी छन् । खर्चको जोहो गर्न उनले अपनाएको व्यापारिक उपाय साग बिक्री नै हो । त्यो पनि केही वर्षदेखि होइन, डेढ दशकदेखिको । तर अरूभन्दा उनको साग बिक्री गर्ने तरिका अलिक भिन्न भएकै कारण पनि उनी लोकप्रिय बनेकी हुन् ।
थापा परिवारका एक छोरा बविन तथा अर्की छोरी पनि छन् । ती दुवै आईटी पढ्छन् । छोरीले पढाइ सके पनि छोरा भने स्नातक पहिलो वर्षमा अध्ययनरत छन् । आईटी पढ्न निकै खर्च लाग्ने गर्छ । त्यसमा पनि थापा दम्पत्तीले जोहो गरेकै रुपैँयाबाट त्यो खर्च धान्दै आएका छन् । काभ्रे तामाघाटबाट राजधानी छिरेपछि नै थापा दम्पत्तीले सयुक्त रूपमा संघर्ष गर्न थालेका थिए ।
कौशलटारमै बस्दै आएकी शोभा मण्डल उनकी साथी हुन् । उनीहरू दुवैको दैनिकी यही हो । दुवैले गरी दैनिक ३०० मुठाजति साग बिक्री गर्दै आएको उनीहरूको भनाइ छ ।
.jpg)
प्रकाशित मिति: आइतबार, चैत १७, २०७५