काठमाडौं : शान्ति प्रक्रियामा आउँदा माओवादीले तीन हजार ४७५ थान हतियार मात्रै संयुक्त राष्ट्रसंघीय शान्ति मिसन (अनमिन)को निगरानीअन्तर्गत राखेको थियो । तर नेपाली सेनाले माओावादीसँग यति मात्र हतियार भएकामा शंका गर्दै ‘बाँकी दुई हजार ६०३ हतियार तत्कालीन माओवादीले लुकाएका’ दाबी गरेको थियो ।
बाह्र बुँदे सहमतिसँगै तत्कालीन विद्रोही नेकपा माओवादी शान्ति प्रक्रियामा आएपछि लडाकु व्यवस्थापनको काम त अन्त्य भयो तर हतियारको विषयको समाधान कहिले भएन । शिविरका कन्टेनरमा दुई हजार ८५५, शिविर पेरिमिटर सुरक्षामा ५२४ र माओवादी नेतृत्वको सुरक्षाका लागि ९६ वटा हतियार रहेको अनमिनले बताएको थियो । तर यो तथ्यांकमा नेपाली सेनाले कहिल्यै चित्त बुझाएन । सेना, प्रहरी, सशस्त्र प्रहरीबाट युद्धको समयमा तीन हजार ४३० हतियार माओवादीले लुटेको सेनाले जनाएको थियो ।
विप्लव कार्यकर्ताबाट समातिएका यी आधुनिक हतियार सेना र सशस्त्र प्रहरीसँग छन् । ‘यस्ता हतियार विप्लव माओवादीसँग नै भेटिनुले हतियार लुकाएको यथार्थ पुष्टि गर्छ’, सहायक रथी ढकालले भने ।
२०६३ चैत २७ गते संयुक्त राष्ट्रसंघको मिसन अनमिन नेपालमा लडाकु शिविर, हतियार र व्यवस्थापनमा खटिएको थियो । माओवादी लडाकुसँग भएका हतियारको तथ्यांक पनि अनमिनले सार्वजनिक गरिसकेको छ ।
अनमिनले लडाकुको अन्तिम प्रमाणीकरण गर्दा पाँच हजार ५७९ लडाकु थिए । अनमिन फर्केपछि ती लडाकुलाई रेखदेख, पुनस्र्थापना तथा समायोजन विशेष समिति मातहत राखिएको थियो । यो समितिले लडाकुहरूको वर्गीकरण गर्दा दुई हजार ४५६ अनुपस्थित थिए ।
जंगी अड्डाले २५ सय हाराहारी लुकाइएका ती हतियारमध्ये अधिकांश विप्लव माओवादीसँग रहेको आशंका गरेको छ। ‘हराएका तीमध्ये दुई हजारजति हतियार विप्लव माओवादीसँग छन् भन्ने सेनाको आशंका हो’, सैनिक प्रवक्ता सहायक रथी यामप्रसाद ढकालले भने ।
हराएको हतियार भेटिने क्रम २०७० बाट
हराएका ती हतियार भेटिने शृंखला २०७० सालबाट सुरु भएको थियो । जाजरकोट खलंगास्थित पिपेको रानीवनमा २०७० कात्तिक २८ गते प्रहरीले ठूलो परिमाणमा हतियार फेलापारेको थियो । खाल्डो खनेर गाडेका ४४ थान एसएलआर, छ थान थ्री नट थ्री, दुई थान टु इन्च मोर्टार र एके– ४७ मा प्रयोग हुने ३८५ राउन्ड गोली फेलापरेका थिए ।
जंगी अड्डा स्रोतका अनुसार नेपाल प्रहरीबाट लुटेका थ्री नट थ्री राइफल बढी मात्रामा विप्लव माओवादीसँग छन् । त्यसबाहेक एसएलआर, एसएमजी, एलएमजी, एम– १६, सर्ट गन, पेस्तोललगायत पनि छन् ।
२०७१ साउन ६ गते एके– ४७ राइफलसहित मनाङबाट नवीन र उजिर मगरलाई प्रहरीले समातेको थियो । विप्लव कार्यकर्ताबाट केही समयअघि मात्रै सुनसरीको धरानबाट एम–१६ र एलएमजी हतियार बरामद भएको थियो । कपिलवस्तुबाट एसएमजी दुई थान र एउटा पेस्तोल बरामद भएको थियो ।
विप्लव कार्यकर्ताबाट समातिएका यी आधुनिक हतियार सेना र सशस्त्र प्रहरीसँग छन् । ‘यस्ता हतियार विप्लव माओवादीसँग नै भेटिनुले हतियार लुकाएको यथार्थ पुष्टि गर्छ’, सहायक रथी ढकालले भने ।
प्रहरीबाट तीन हजार ४०९, सशस्त्रका एक हजार ८६९ र सेनाका ८०० गरी पाँच हजार २८६ हतियार माओवादीले लुटेको थियो । सेना र प्रहरीबाट मात्रै लुटेका छ हजार ७८ थान हतियार माओवादीसँग थिए ।
जंगी अड्डा स्रोतका अनुसार नेपाल प्रहरीबाट लुटेका थ्री नट थ्री राइफल बढी मात्रामा विप्लव माओवादीसँग छन् । त्यसबाहेक एसएलआर, एसएमजी, एलएमजी, एम– १६, सर्ट गन, पेस्तोललगायत पनि छन् ।
एम– १६ युद्धको उत्तराद्र्धमा सेनाले नेपाल भित्र्याएको आधुनिक र प्रभावशाली हतियार थियो । दाङमा २०६१ असार २१ गते सेना र माओवादीबीच दोहोरो भिडन्त हुँदा केही एम– १६ हराएका थिए ।
तीबाहेक पनि माओवादीसँग आधुनिक हतियार रहेको आशंका गरिएको थियो । तीमध्ये दुई हजार ८२४ थान हतियार मात्र कन्टेनरमा राखिएको थियो ।
शिविरमा नभेटिएका ती लडाकुसँग प्रति व्यक्ति एक हतियार रहे पनि लुकाइएको आशंका सेनाको छ । तिनै हतियार अहिले विप्लव माओवादीसँग फेला पर्न थालेको जंगी अड्डा बताउँछ ।
हतियार लुटिएका यी घटना
मंगलसेन भिडन्त
२०५८ फागुन ५ गते अछाम मंगलसेनस्थित सेनाको गोरखनाथ गण कब्जामा लिई माओवादीले आक्रमण गर्दा ५५ सैनिकको मृत्यु भएको थियो । त्यस क्रममा माओवादीले एसएलआर ३८, एसएमजी १२, एलएमजी सात, मोर्टार एक र जीपीएमजी एक थान लुटेका थिए ।
गाम युद्ध
२०५९ वैशाख २४ गते रोल्पाको गाममा दोहोरो भिडन्त हुँदा २३ जना सुरक्षाकर्मी मारिएका थिए । त्यस क्रममा माओवादीले एसएलआर २८, एसएमजी १२, एलएमजी पाँच, जीपीएमजी एक, पेस्तोल दुई, मोर्टार एक, ८१ मिमी र ४० मिमी रकेट लञ्चर लुटेको थियो ।
सन्धिखर्क
अर्घाखाँचीको सन्धिखर्कमा २०५९ भदौ २३ गते दोहोरो भिडन्त हुँदा १७ जना सुरक्षाकर्मी मारिएका थिए । त्यस क्रममा माओवादीले एसएलआर २३, एलएमजी सात, एसएमजी १२, एमएम ब्रो पेस्तोल दुई, मोर्टारलगायत थुप्रै हतियार तथा बन्दोस्तीका सामान लुटेका थिए ।
कहाँ गए ती हतियार ?
संयुक्त हतियार अनुगमन समिति (जेएमसीसी)मा नेपाली सेनाले माओवादीको हतियार निकै कम दर्ता भएको भनी आपत्ति जनाएको थियो । सेनाले जेएमसीसीमा लिखित रूपमै फरक मत पनि राखेको थियो ।
सेनाको तथ्यांकमा सुरक्षाफौज (प्रहरी, सशस्त्र प्रहरी र सेना)बाट लुटिएका तीन हजार ४३० हतियारमध्ये दुई हजार ८२४ थान हतियार मात्र कन्टेनरमा थिए । सुरक्षाफौजका ७५ थान हतियार माओवादी नेतृत्वको सुरक्षामा प्रयोग भएको देखिएको सेनाको भनाइ छ ।
‘त्यस हिसाबले पनि बाँकी रहेका ७८२ थान हतियार कहाँ गए ?’, जेएमसीसीका तत्कालीन उपाध्यक्ष (हाल प्रधानसेनापति) पूर्णचन्द्र थापाले सैनिक मुख्यालयलाई बुझाएको प्रतिवेदनमा प्रश्न उठाएका छन् ।
फोल्ड गर्न मिल्ने एसएमजी, एके– ४७ राइफल, पेस्तोललगायतका हतियार लुकाउनु स्वाभाविक भए पनि ८१ एमएम मोर्टार, जीपीएमजी, एलएमजी जस्ता ठूला हतियार उल्लेख्य परिमाणमा नदेखिएको उक्त प्रतिवेदन औँल्याउँछ ।
प्रतिवेदनका अनुसार माओवादीले विभिन्न भिडन्तबाट ११ वटा ८१ एमएम मोर्टार नियन्त्रणमा लिएका थिए । त्यसमध्ये सात थान मात्र कन्टेनरमा राखिएको थियो । ‘सुरक्षाकर्मीबाट लुटिएका एक थान रकेट लन्चर, एक थान जीपीएमजी, १९ थान एलएमजी जस्ता ठूला हतियार अनमिनको दर्तामा छैनन्’, प्रतिवेदन भन्छ ।
कन्टेनरमा राखिएका अधिकांश हतियार बिग्रिएका, थोत्रा थिए । २०६३ सालमा अनमिनले बुझ्ने क्रममा ६०० जति हतियार त कामै नलाग्ने अवस्थाका रहेको बताइएको थियो ।
‘त्यस हिसाबले पनि बाँकी रहेका ७८२ थान हतियार कहाँ गए ?’, जेएमसीसीका तत्कालीन उपाध्यक्ष (हाल प्रधानसेनापति) पूर्णचन्द्र थापाले सैनिक मुख्यालयलाई बुझाएको प्रतिवेदनमा प्रश्न उठाएका छन् ।
सुरक्षाकर्मीबाट लुटेकाबाहेक अन्यत्रबाट ल्याइएका ३१८ र घरेलु प्रविधिबाट निर्माण गरएिका माइन, सकेट बमलगायतका २३५ थान हतियार पनि अनमिनमा दर्ता थिए । तीमध्ये एके– ४७ राइफलको संख्या ३३ थियो । तिनलाई शान्ति प्रक्रियाको पाँच वर्षसम्म शिविर र पार्टी नेतृत्वकै सुरक्षामा राखिएको थियो ।
शान्ति वार्ता चलिरहेका बेला २०६३ भदौमा काभ्रेको कामीडाँडामा माओवादीको तेस्रो डिभिजनले हतियार प्रदर्शन गर्दा डेढ दर्जन एके– ४७ देखिएका थिए । चितवनको हर्नामाडीमा तेस्रो डिभिजनअन्तर्गतकै प्रताप स्मृति ब्रिगेडले अर्को सैन्य प्रदर्शन गर्दा आधा दर्जन एके– ४७ राइफल थिए ।
तेस्रो डिभिजनमा मात्र तीन दर्जना बढी एके– ४७ राइफल थिए । अन्य डिभिजनमा डेढ दर्जन मात्र एके– ४७ भए पनि सातवटा डिभिजनसँग झन्डै १५० को हाराहारीमा यो हतियार रहेको तर ती अनमिनको दर्तामा नरहेको प्रतिवेदन बताउँछ ।
माओवादी शान्ति प्रक्रियामा आउने बेलामा उनीहरूका २१ वटा ब्रिगेड थिए । पछि शहरी गुरिल्ला दस्तालाई मिसाएर सातवटा नयाँ ब्रिगेड बनाइएको थियो । द्वन्द्वकालमा माओवादी लडाकुको एक कम्पनीमा सरदर ८० देखि १२० जति सदस्य हुन्थे । तिनमा स्वचालित, अर्धस्वचालित र भरुवा गरी ४०–५० जति हतियार हुन्थे ।
एक कम्पनीमा काम लाग्ने हतियारको संख्या ४० कै दरले हिसाब गर्दा पनि त्यो संख्या ३६० हुन्छ । शान्ति प्रक्रियामा आउने बेलासम्म भएका २१ वटा ब्रिगेडको मात्र हेर्दा २०६३ जेठसम्म साढे सात हजार हतियार मौज्दात थिए । तर अनमिनमा तीन हजार ४७५ हतियार मात्रै दर्ता थिए ।
‘स्थानीयबाट कति हतियार माओवादीले लुटेका थिए, विदेशबाट किनिएका एके– ४७ हतियारको रेकर्ड कहीँ छैन’, प्रतिवेदन भन्छ ।
अनमिन माओवादीप्रति एकपक्षीय भएको भन्दै २०६७ भदौमा म्याद नथप्न सरकार र राजनीतिक दलसँग लिखित आग्रह गरेको थियो । तात्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल तथा विशेष समितिका माओवादीबाहेकका सदस्यलाई तात्कालीन प्रधानसेनापति छत्रमानसिंह गुरुङ आफैँले भेटेर ‘अनमिनको बहिर्गमनका आधारहरू’ शीर्षकको दुई पेज लामो प्रतिवेदन नै बुझाएका थिए ।
लडाकु शिविरलाई सेना समायोजन विशेष समिति मातहत ल्याएर त्यही साल माघ १ गते अनमिनलाई नेपालबाट बिदा गरिएको थियो।
विप्लवसँग ५०० एसएलआर !
मानवअधिकारवादी संस्था अनौपचारिक सेवा केन्द्र (इन्सेक)ले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको माओवादीसँग ठूलो परिमाणमा आधुनिक हतियार रहेको दाबी गरेको छ ।
इन्सेकका सातवटै प्रदेश संयोजकहरूको केही साता पहिले राजधानीमा सम्पन्न भेलामा विप्लव समूहसँग ५०० हाराहारीमा आधुनिक हतियार एसएलआर (सेल्फ लोडिङ राइफल) रहेको अनौपचारिक तथ्यांक पेस भएको स्रोतले बतायो । इन्सेकका संस्थापक अध्यक्ष सुवोधराज प्याकुरेलका अनुसार विप्लव माओवादीसँग करिव ५०० हतियार छन् । त्यसमा पनि बढी एसएलआर छन् । उनी भन्छन्, ‘लक्षण राम्रो छैन । लावारिस छाडिदिएका पूर्वलडाकुहरूमा निराशा छ, गरिवी छ । द्वन्द्वका लागि नेपाल मलिलै छ ।’
स्रोतका अनुसार अन्य हतियार पनि माओवादीसँग छन् । त्यसबारे पूर्ण जानकारी आएको छैन । तथापि दस वर्षे सशस्त्र युद्धका बेला सेना र प्रहरीबाट लुटिएका बढीभन्दा बढी हतियार विप्लव माओवादीसँग रहेको इन्सेकको दाबी छ ।
एसएसआर राइफल सेनाले सशस्त्र युद्धताकै नेपाल भित्र्याएको हो । एसएलआर सशस्त्र हुँदै अहिले नेपाल प्रहरीले पनि प्रयोग गर्छ ।
८०० मिटरसम्म प्रभावशाली फायरिङ क्षमता राख्ने यो राइफलले स्वचालित र अर्धस्वचालित दुवै सिस्टममा फायर गर्छ ।
इन्सेकको सर्भेमा विप्लव माओवादीसँग बम, बारुद बनाउने ज्ञान भएका निकै मान्छे रहेको आँकलन गरिएको छ । ‘पूर्वलडाकु पनि ठूलो संख्यामा छन् । उनीहरूले पचास हजारदेखि पाँच लाखसम्म चन्दा उठाइरहेको बुझिन्छ’, इन्सेक स्रोतले भन्यो, ‘स्थानीय तहको हरेक विकास निर्माणको दुई प्रतिशत रकम विप्लव माओवादीले उठाइरहेको छ ।’
इन्सेकका संस्थापक अध्यक्ष सुवोधराज प्याकुरेलका अनुसार विप्लव माओवादीसँग करिव ५०० हतियार छन् । त्यसमा पनि बढी एसएलआर छन् । उनी भन्छन्, ‘लक्षण राम्रो छैन । लावारिस छाडिदिएका पूर्वलडाकुहरूमा निराशा छ, गरिवी छ । द्वन्द्वका लागि नेपाल मलिलै छ ।’
‘सबै प्रदेशमा विप्लवको गतिविधि देखिन्छ । विप्लव माओवादीले ४५ जिल्लामा प्रभाव रहेको जनाएको छ । तीमध्ये १२ जिल्लामा प्रभाव बढी रहेको बुझिन्छ’, स्रोतले भन्यो ।
इन्सेकका अनुसार विप्लव नेकपाले भ्रष्टाचारीलाई छानीछानी कारबाही गर्ने रणनीति लिएको देखिन्छ । ‘जनताको रक्षा गर्दै भ्रष्टाचारीलाई कारबाही गर्ने उनीहरूको योजना छ’, स्रोतले भन्यो, ‘सिधा हिंसामा नजाने, जनतामाझ लोकप्रिय हुँदै आक्रामक गतिविधि बढाउने लक्ष्य बनाएको छ ।’
प्रहरीले पनि विप्लव माओवादीसँग सशस्त्र द्वन्द्वका बेला सेना र प्रहरीबाट लुटेका हतियार रहेको बताएको छ । ‘यति उति भन्ने छैन तर द्वन्द्वका हतियार विप्लव माओवादीसँग छन् । अहिलेसम्म त्यही देखिएको छ’, प्रहरी प्रवक्ता उत्तमराज सुवेदी भन्छन् ।
प्रकाशित मिति: शुक्रबार, चैत १५, २०७५