काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा भएको चर्चित ठगी प्रकरणको अन्तिम सुनुवाइ आजदेखि सुरु भएको छ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा मुद्दा पेसी तोकिएको हो।
यो प्रकरणमा हालसम्म ३३ जना प्रतिवादी बनाइएका छन्। गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को पालामा २०७६ जेठ ३० गते गठित कार्यदलमार्फतै ठगी प्रक्रिया सुरु भएको अनुसन्धानमा देखिएको हो। पूर्वसहसचिव बालकृष्ण पन्थीको संयोजकत्वमा बनेको उक्त कार्यदलमा गणेशबहादुर केसी विज्ञका रूपमा र तत्कालीन शाखा अधिकृत दीपकप्रसाद न्यौपाने सदस्यसचिवका रूपमा संलग्न थिए। कार्यदलको प्रतिवेदनमा नक्कली नाम समावेश गरी शरणार्थी सूची फुलाइएको र त्यसैको आधारमा रकम उठाइएको प्रहरीले सार्वजनिक गरेको थियो।
सुरुवाती चरणमा ११३ जना पीडितका २८ जाहेरीका आधारमा ३० जनाविरुद्ध २०८० जेठ १० गते मुद्दा दायर भएको थियो। त्यतिबेला २८ करोडभन्दा बढी बिगो दाबी गरिएको थियो। त्यसपछि पूरक जाहेरीका आधारमा थप प्रतिवादीसमेत समेटिँदा संख्या ३३ पुगेको हो। पछिल्लोपटक पक्राउ परेका बेचन झा पनि मुद्दामा प्रतिवादी बनेका छन्।
फरार र पक्राउ अवस्थाः
३३ प्रतिवादीमध्ये २२ जना पक्राउ परेका छन् भने ११ जना अझै फरार छन्। फरारमध्ये पूर्वमन्त्री बादलका तत्कालीन सुरक्षा सल्लाहकार इन्द्रजित राईका छोरा निरज राई, मोहनराज राई, गोकुल–रमा थापा, राजेश अर्याल, धिरेन राई, अशोक पोखरेललगायत छन्।
त्यस्तै, पक्राउ परेकामध्ये ११ जना पुर्पक्षका लागि जेलमा छन्। तिनमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, बादलका छोरा प्रतिक थापा, सचिव टेकनारायण पाण्डे, आङटावा शेर्पा, सानु भण्डारी, सन्देश शर्मा, गोविन्द चौधरी, सागर राई, बेचन झा लगायत छन्।
७ जना भने धरौटीमा रिहा भएका छन्। उनीहरूमा पूर्वगृहमन्त्री बालकृष्ण खाण, उनका पीए नरेन्द्र केसी, हज कमिटी अध्यक्ष शमशेर मियाँ, टेकनाथ रिजाललगायत पर्छन्। अन्य ४ जना साधारण तारेखमा बाहिर रहेका छन्।
यो प्रकरणलाई तीनवटा मुख्य आरोपमा मुद्दा चलाइएको छ– ठगी, राज्यविरुद्धको अपराध र संगठित अपराध।
प्रकाशित मिति: बुधबार, भदौ १८, २०८२