काठमाडौं । नेकपा एमालेले आगामी विधान महाधिवेशनमा सहभागी प्रतिनिधिबाट कुनै शुल्क नलिने भएको छ। भदौ २० गतेदेखि सुरु हुने महाधिवेशनका सबै खर्च पार्टी केन्द्रले नै बेहोर्ने एमाले महासचिव शंकर पोखरेलले जानकारी दिए।
उनका अनुसार यसअघि प्रतिनिधिबाट शुल्क उठाउने प्रथा रहेको भए पनि यसपटक त्यसलाई अन्त्य गरिएको हो। पोखरेलले भने, ‘‘पार्टीले सम्पूर्ण खर्च व्यहोर्छ। अहिले कति लाग्छ भन्ने अनुमान गर्न गाह्रो छ। अधिवेशन सम्पन्न भएपछि खर्चको विवरण सार्वजनिक गरिनेछ।’’
उनले एमालेलाई पारदर्शी हिसाब-किताब राख्ने पार्टीका रूपमा स्थापित गर्ने उद्देश्य रहेको बताए।
विधान महाधिवेशनमा देशभरबाट आएका २,०२६ जना प्रतिनिधि र ३१५ जना आयोजकसहित कुल २,३४१ जना सहभागी हुनेछन्। कार्यक्रममा खाने व्यवस्थापन पार्टीले गर्ने भए पनि बस्ने व्यवस्था सहभागीले आफैं गर्नुपर्ने बताइएको छ।
प्रकाशित मिति: बुधबार, भदौ १८, २०८२