जनकपुर : जिल्ला अदालत धनुषाले जनकपुर बम काण्डका मुख्य अभियुक्त पूर्व राज्यमन्त्री संजय साहलाई जन्मकैद र थप १५ बर्ष थप कैद गर्ने फैसला गरेको छ । अदालत बेन्च ७ का न्यायाधीश राजेश कटुवालको इजलासले मुकेश चौधरी र राजन मुक्क्ती भनिने रन्जित झालाई पनि जन्मकैद र थप १५ बर्ष कैद सजाय सुनाएको छ ।
त्यसैगरी जयप्रकाश चौधरी, मुकेश कर्ण र सुरेश कुमार कर्ण र दिपेन्द्र झालाई जन्मकैदसँगै थप १२ वर्ष कैद र ओम प्रकाश यादवलाई १५ वर्ष कैद गर्ने फैसला भएकाे जिल्ला अदालतका श्रेस्तेदार राधाकान्त झाले जानकारी दिए । साेही मुद्दामा सुजित कुमार पाण्डेले भने सफाइ पाएका छन् । सो मुद्दामा वादीका तर्फबाट सरकारी वकिल शम्भु गौतम, हेमबहादुर कार्की, वलराम सुवेदी, बिप्पिन झा, चन्द्र शर्मा मैनालीले बहस गरेका थिए ।
प्रतिवादीको तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र महतो, वरिष्ठ अधिवक्ता बिनोद शर्मा, श्याम कुमार मिश्र, प्रदीप मिश्र, ओम प्रकाश सिंह, प्रकाश घिमिरे, दिपेन्द्र साह, मन्सुर राइन, राजन दाहाल र विजय ठाकुरले बहस गरेका थिए । मिथिला राज्यको माग गर्दै जनकपुरको रामानन्द चोकमा १८ वैशाख २०६९ मा आयोजना गरिएको धर्ना कार्यक्रममा बम विस्फोट भएको थियो ।
बम विस्फाेटन घटनामा पाँच जनाको मृत्यु र ३२ जना घाइते भएका थिए । फरार रहेका प्रतिवादीहरू जितेन्द्र कुमार कर्ण, नागराज भनिने उमेश तिवारी, फुलकुमार डखेल यादव, आदित्य देवकाे हकमा मुद्दा मुलतबी रहने गरी फैसला भएकाे छ।
प्रकाशित मिति: बिहीबार, चैत १४, २०७५