काठमाडौं : नेपाल बार एसोसियसनका अध्यक्षका उम्मेदवार सुनिल कुमार पोख्रेलले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । नेपाल बार एसोसियसनको निर्वाचनमा अध्यक्षको उम्मेदवारले यसरी सम्पत्ती विवरण सार्वजनिक गरेको पहिलोपटक हो ।
पोख्रेलले सार्वजनिक गरेको सम्पत्ती विवरणअनुसार उनीसँग महालक्ष्मी ललितपुरमा ५ आना जग्गा र सो जग्गामा बनेको साढे २ तले घर छ । त्यस्तै, भक्तपुर दधिकोटमा ४ आना, हेटौडामा १ कठ्ठा र सप्तरी राजगढ गाउँपालिकामा ४ कठ्ठा १० धुर जग्गा रहेको छ । त्यस्तै पोख्रेलसँग २५ तोला सुन र ४० तोला चाँदी रहेको सम्पत्ती विवरणमा उल्लेख छ ।
उनीसँग स्ट्याण्डर्ड चाटैड र प्रभु बैंकमा गरि ११ लाख ५० हजार रुपैया बचत रहेको छ । त्यस्तै, विभिन्न बैंक तथा वित्तिय संस्थामा १० लाख बराबरको साधारण रहेको पोख्रेलले जनाएका छन् ।
नेपाल बार एशोसिएशनको २५ औँ केन्द्रीय कार्यसमितिको निर्वाचन चैत १६ गते हुँदैछ । पूर्व महासचिव पोख्रेल वृहत लोकतान्त्रिक समुहकातर्फबाट अध्यक्ष पदका उम्मेदवार छन् । सत्तारुढ नेकपा निकट कानून व्यवसायीको संगठन नेपाल लयर्स एसोसिएशन को तर्फबाट वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठ अध्यक्ष पदमा उम्मेदवार छन् । श्रेष्ठ र पोख्रेलबिच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।


प्रकाशित मिति: बिहीबार, चैत १४, २०७५