इटहरी : सुनसरीको हरिनगर गाउँपालिका–४ मा गए राति भएको आगलागीमा परी २० लाखभन्दा बढीको क्षति भएको छ । स्थानीय विजय जैनको घरमा विद्युत सर्ट भएको आगलागीमा २० लाखभन्दा बढीको क्षति भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
आगलागीमा परी मुख्य बजारमा रहेको जैनको दुईतले घर, किराना र लुगा पसल र घरभित्र रहेका विभिन्न सामग्री जलेर पूर्ण रुपमा नष्ट हुँदा सो बराबरको क्षति भएको सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुँयालले जानकारी दिए ।
दमकल ढिलो पुगेका कारण आगलागीमा बढी क्षति भएको हरिनगर गाउँपालिकाकी उपाध्यक्ष रिमझिमकुमारी भगतले बताइन् । हरिनगर गाउँपालिकामा दमकल नभएको र इनरुवाबाट दमकल आउन ढिलो भएका कारण समयमा आगो नियन्त्रणमा लिन नसक्दा बढी क्षति भएको भगतले जनाइन् ।
स्थानीयवासी, प्रहरी, इनरुवा दुहबी नगरपालिका र इटहरी उपमहानगरपालिकाबाट आएको बारुण यन्त्रले आगो नियन्त्रणमा लिएको थियो । कमाइ गरेर खाने एक मात्र साधनको रुपमा रहेको पसल पनि आगलागीमा परेर खरानी भएपछि पीडित परिवार चिन्तित छ ।
प्रकाशित मिति: बिहीबार, चैत १४, २०७५