लहान : छोरीको बिहेका लागि जोहो गरेको नगदसहित सम्पूर्ण सामान आगलागीमा जलेर खरानी भएपछि सप्तरीको सुरुङ्गा नगरपालिका– ९ प्रमाणपुरकाे एक परिवार अहिले ठूलो बिजोगमा परेको छ ।
धूमधामका साथ छोरीको बिहे गर्छु भन्ने ठूलो सपना देखेका प्रमाणपुरका स्थानीय विद्यालाल मण्डलको परिवार बिहे कसरी गर्ने भन्ने चिन्तामा डुबेको हो । यही चैत २ गते अचानक भएको आगलागीमा छोरीको बिहेका लागि साहुमहाजनसँग ऋण लिएर जोहो गरेको नगद तीन लाख र सुनचाँदीका गरगहना तथा अन्नपातलगायतका सबै समान आगलागीमा जलेर नष्ट भएपछि यतिबेला बिजोगमा परेको विद्यालाल बताउँछन् ।
बिहेको सबै तयारी हुँदै थियो, सामान पनि किनेर घर भित्र्याइसकेको थिएँ , उनी भन्छन्, तर अचानक बस्तीमा आगलागी भयो, घरको सबै सामान जलेर खरानी भएपछि ठूलो सङ्कटमा परेको हुँ । आगलागीमा न त टाउको लुकाउने रह्यो न त एक मुठी अन्न नै, अब कसरी छोरीको बिहे गर्ने भन्ने ठूलो चिन्तामा परेको उनी सुनाउँछन् ।
विद्यालालक तीन छोरीमध्ये जेठी छोरी मञ्जुको यही वैशाख ४ गते सिरहाको लहान नगरपालिकास्थित ब्रह्मान गोर्छारीमा बिहे तय गरिएको छ । बिहे नजिकिँदै गएका बेला एक्कासी आगलागीले घरबारविहीन बनाइएपछि उनको सात जनाको परिवार त्रिपालमुनि दिन बिताउँदै आएकाे छ । स्थानीय बद्री मण्डलको घरबाट सल्केको आगो फैलिएर आगलागी हुँदा विद्यालालसहित स्थानीय आठ परिवारको १० वटा घर जलेर नष्ट भएको थियो ।
यसैबीच आगलागीबाट घरबारविहीन भएपछि छोरी बिहेको चिन्तामा डुबेको विद्यालालको परिवारलाई बुधबार नेपाल जनउत्थान प्रज्ञा समाज सप्तरीले आर्थिक सहयोग प्रदान गरेको छ । आगलागी भएको दुई दिनपछि नै चामल, दाल, कपडालगायतको राहत सहयोग गरेको समाजले छोरीको बिहेमा सहयोग पुगोस् भन्ने उद्देश्यका साथ विद्यालालको परिवारलाई नगद ५० हजार प्रदान गरेको हो । समाजका अध्यक्ष मो अल्लाउदीन र सुरुङ्गा नगरपालिका–९ का वडाध्यक्ष पुथ्वीविलास चौधरीले विद्यालाललाई सो नगद प्रदान गरे । आर्थिक अवस्था कमजोर रहेकाले छोरीको बिहे गर्न समस्या भएको पीडित परिवारको बेदना सुनेर आर्थिक सहयोग गरेको समाजका अध्यक्ष मो अल्लाउदीनले बताए । समाजले सो बस्तीका अग्निपीडित परिवारको समस्यालाई मध्यनजर गरी बस्तीमा तीन थान ट्युबेलसमेत जडान गरिदिएको छ । -रासस