म्याग्दी ः बेनी नगरपालिका–१० पात्लेखेतका १ परिवारले गाउँमा सामुदायिक भवन निर्माणका लागि करिब ५ लाख मूल्यबराबरको जग्गा निःशुल्क उपलब्ध गराएकाे छ ।
पात्लेखेतका मोमाकुमारी मल्ल (भीमकुमारी)को परिवारले बेनी नगरपालिकाले बनाउन लागेको ४ कोठे बहुउद्देश्यीय सामुदायिक भवनका लागि ६ आना जग्गा निःशुल्क उपलब्ध गराएको हो ।
भीमकुमारी, उनका छोरा भगवान र प्रताप तथा बुहारी निर्मला मल्लले आइतबार जिल्ला मालपोत कार्यालयबाट बेनी नगरपालिका–१० नम्बर वडा कार्यालयलाई जग्गा रजिष्ट्रेसन पास गरिदिएको कार्यवाहक वडाध्यक्ष लोकबहादुर पुनले जानकारी दिए ।
वडाध्यक्ष पुनका अनुसार मल्ल परिवारले उपलब्ध गराएको जग्गाको मूल्य करिब ५ लाख अनुमान गरिएको छ । मल्ल परिवारले उपलब्ध गराएको जग्गामा बेनी नगरपालिकाले चालू आर्थिक वर्षमा विनियोजन गरेको १७ लाख बजेटबाट सामुदायिक भवन निर्माण सुरु भएको छ ।
स्थानीय सिद्ध महिला विकास सहकारी, वन, कृषक समूह, युवा क्लबलगायत सामाजिक संघसंस्थाको कार्यालयका लागि सामुदायिक भवन प्रयोग गरिने भएको छ । चालू आवभित्रै १ तले भवन निर्माण सक्ने लक्ष्यसहित काम सुरु भएको कार्यवाहक वडाध्यक्ष पुनले बताए । - रासस
प्रकाशित मिति: सोमबार, चैत ११, २०७५