अभिनेत्री करिश्मा मानन्धर आज सुरु भएको एसईई परीक्षामा सामेल भएकी छिन् । चलचित्र नगरीमा सामान्यतया एउटा कलाकारले अर्को कलाकारलाई आत्मीयताभन्दा बढी बैरीको रुपमा हेर्ने र लिने गरेका छन् । तर, अभिनेत्री करिश्मा मानन्धरको हकमा यो लागू भएन । किनभने उनलाई बधाई दिने चलचित्रकर्मीको ओइरो लागेको छ । उनलाई शुभकामना दिनेहरूमा अहिलेका नयाँदेखि पुराना चलचित्रकर्मीसम्म छन् । त्यसैगरी चलचित्र पत्रकारहरू लगायत उनको पार्टी नयाँ शक्तिका कार्यकर्ता तथा शुभचिन्तकहरूले पनि उत्तिकै मात्रामा शुभकामना दिएका छन् । एक प्रकारले हेर्ने हो भने आज सोसयल मिडियामा उनी भाइरल नै भएकी छिन् ।
उनको परीक्षा सेन्टरमा पनि चलचित्र पत्रकारहरूको बिहान घुइँचो नै लागेको थियो । अधिकांशले फेसबुकमै स्टाटस लेखेरै शुभकामना दिएका छन् । यसरी शुभकामना दिनेहरूमा चलचित्रकर्मीहरू रेखा थापा, ऋचा शर्मा, गोविन्द राई, प्रदीपकुमार उदयदेखि अन्य थुप्रै छन् ।
नृत्य निर्देशक गोविन्द राईले मेरो प्यारो साथी तिमीलाई धेरैधेरै शुभकामना भनेका छन् ।
अभिनेत्री ऋचा शर्माले कुनै पनि शुभकार्य गर्न ढिलाइ गर्नुहुँदैन भनेकी छिन् । उनी लेख्छिन्, हामी गाैरवान्वित छौं, तपाईं एसईईमा भाग लिनुभएकोमा र, तपाईं लगायत अन्य सबै विद्यार्थीहरूलाई पनि शुभकामना ।
महेश भण्डारीले भनेका छन्, ‘तर्क र विचारभन्दा ठूलो कर्म र व्यवहार हो । सर्वाधिक सुन्दर अभिनेत्री करिश्मालाई शुभकामना ।’
अभिनेत्री रेखा थापाले सफलताको शुभकामना भनेकी छिन् ।
चलचित्रकर्मी प्रदीपकुमार उदयले भनेका छन्, ‘नेपाली चलचित्र क्षेत्रकी सदाबहार नायिका करिश्मा मानान्धरज्यूलाई आज सुरु हुने परीक्षामा सफलता मिलोस शुभकामना ।’
प्रकाशित मिति: आइतबार, चैत १०, २०७५