१६ डिसेम्बर २०१२ का दिन संसारलाई स्तब्ध पार्ने ‘दिल्ली ग्याङ रेप’ यो साता फेरि चर्चामा आएको छ । इतिहासकै घिनलाग्दो घटना भनेर चिनिएको उक्त सामूहिक बलात्कारलाई आधार बनाएर बनाइएको ‘दिल्ली क्राइम’ वेबसिरिज नेटफ्लिक्समा यो साता रिलिज भएको छ । उक्त सिरिजले चारैतिर वाहवाही पाएको छ । सर्वत्र प्रशंसा भएको उक्त सिरिज डकुमेन्ट्री शैलीमा ‘काल्पनिक’ रूपमा देखाइएको छ ।

सिरिज डीएसपी वर्तिका चतुर्वेदीको नजरबाट देखाइएको छ । घटना भएदेखि दिल्ली पुलिसको संलग्नता, छानबिन, अपराधीहरूको खोजी, मुद्दामामिला सबै कुरामा दिल्ली पुलिसको के कस्तो भूमिका थियो भन्ने कुरा जान्नका लागि यो एउटा उत्कृष्ट दस्तावेज हो । यो घटनामा पुलिस र सरकारको चर्को आलोचना भएको थियो । पुलिसले उचित सुरक्षा दिन नसकेको, घाइतेहरूलाई समयमै अस्पताल नपुर्याएको, अपराधी समात्न ढिला गरेको आदि ठूला आरोपबाट दिल्ली पुलिस विवादमा परेको थियो । यो सिरिजले ती आरोपहरूको विपक्षमा उभिएर दिल्ली पुलिसको वकालत गर्छ । कसरी मिडियामा आएका सबै कुरा सत्य थिएनन्, कसरी हल्लैहल्लाको भरमा दिल्ली पुलिस र सुरक्षाकर्मीहरूको बदनाम गरिएको थियो, यो सिरिज दिल्ली पुलिसको पक्षमा उभिएको छ ।
‘धनी र गरिबहरूबीचको दूरी बढेको बढ्यै छ । जब दूरी घट्दैन, तल्लो तहकाले माथिल्लो तहसँग भाग छिन्न खोज्छ । तर जब भाग पनि छिन्न सक्दैन तब यस्ता घटनाहरू जन्मन्छन् ।’
इतिहासको कठघरामा उभ्याइएको कथित ‘दोषी’हरूको आवाज बन्ने जुन प्रयत्न गरिएको छ त्यो साँच्चिकै हेर्न लायक छ । घटनामा संलग्न सबै मानिसहरूसँगको अन्तर्वार्ता, कागजपत्र, प्रतक्षदर्शीको बयान, सुरक्षाकर्मीहरूसँगको कुराकानी आदिमा आधारित भएर बनाइएका कारण होला यो सिरिज बन्न धेरै समय लाग्यो । मिडियामा आएका कुरा सबै किन सही थिएनन्, कसरी यो घटनामा राजनीति घुसाइयो, कसरी मानिसहरूले राजनीतिक फाइदा उठाउन खोजे, कसरी देशभर क्रोधको आगो फैलियो, अपराधी समात्न कति दुःख भयो र कसरी अपराधीहरू अदालतमा दोषी ठहर भए, यी सबै कुरा तटस्थ भएर देखाइएको छ ।

हेर्न अप्ठ्यारो र असजिलो महसुस हुने थुपै दृश्यहरू छन् । जसले मथिंगल हल्लाउँछन् । हृदयमा कम्पन गराउँछन् । मानिसले कसरी यस्तो दानवीय अपराध गर्न सक्छ भन्ने भाव मनमा खेलिरहन्छ । हेरिसकेपछि मनमा छाइरहने सन्नाटाले साँच्चिकै प्रश्न गर्छ, ‘के मानिस र दानवबीच यति सानो धर्सा छ ?’ कसरी मुख्य आरोपीले पीडितलाई नै दोषी देख्छ ? कसरी कसैको जीवन बर्बाद गरिसकेपछि पनि मानिस चैनले निदाउन सक्छ । ‘दिल्ली क्राइम’ले यिनै प्रश्नहरूको वरपर रहेर घटनाहरू बयान गर्छ ।
दक्षिण दिल्ली पुलिसकी डीएसपी छाया शर्माको चरित्रमाथि आधारित पात्र जुही चतुर्वेदीको टिमले तीन दिनभित्र अपराधी पक्रन गरेको मेहनत यसमा देख्न सकिन्छ । सिफाली साहको दमदार र मन छुने अभिनय यो सिरिजको बलियो मेरुदण्ड हो । उनको अभिनयमा देखिने वास्तिवक क्रोध र ज्वाला हरेक महिलाको प्रतिनिधि हो । कुनै पनि घटना हुनासाथ पुलिस र सरकारमाथि हुने गरेको आलोचनाको प्रवृत्तिविरूद्ध पनि यो सिरिज बोल्छ । एउटा पात्रको संवाद छ, ‘सर देशमा करोडौँ सुरक्षाकर्मी बाटोमा तैनाथ गरे पनि यस्ता घटना हुन छोड्दैनन् । समस्या सुरक्षामा होइन, समस्या मानसिकतामा हो ।’

अर्को पात्रको संवादले पनि यस्ता घटनाहरूको कारण केलाउने प्रयास गर्छ, ‘धनी र गरिबहरूबीचको दूरी बढेको बढ्यै छ । जब दूरी घट्दैन, तल्लो तहकाले माथिल्लो तहसँग भाग छिन्न खोज्छ । तर जब भाग पनि छिन्न सक्दैन तब यस्ता घटनाहरू जन्मन्छन् ।’ मुख्य दोषीले एकठाउँमा भन्छ, ‘त्यो केटी र त्यसको केटासाथीले त्यसरी गाडीमा एकआपसलाई छुने हो ? भारत बदनाम यस्तै मानिसहरूले गर्दा भइरहेको छ ।’ उसमा अलिकति पनि पश्चात्ताप हुँदैन । उ गर्वले छाती फुलाइरहेको हुन्छ । यस्ता दृश्यहरू हेर्न सजिलो छैन । मानव सभ्यताको कुरूपता देख्दा दर्शक क्रोधले पसिना पसिना हुन्छ । दारा किट्छ । सायद दिल्ली क्राइमको सफलता नै यही हो । यो सिरिजले हाम्रो नैतिकतामाथि पनि प्रश्न गरेको छ ।
बलात्कारका घटना दिनदिनै भइरहेका छन् । भारतमा यो काण्डपछि कडा कानुन ल्याइयो । तर पनि बलात्कारका घटना कम भएका छैनन् । नेपालमा पनि हालत सुध्रिएको छैन । निर्मला हत्याकाण्ड यसको ज्वलन्त उदाहरण हो । ‘दिल्ली क्राइम’जस्ता प्रस्तुतिले हाम्रो समाज बढिरहेको दिशातर्फ संकेत गर्छ । र, प्रश्न गर्छ– ‘के मानिस साँच्चिकै सबैभन्दा विवेकशील प्राणी हो ?’
हेर्नुस् ट्रेलर :
प्रकाशित मिति: शनिबार, चैत ९, २०७५