कञ्चनपुर ः कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ बागफाँटामा ३५ मुक्त हलिया परिवारलाई पुनर्स्थापन गरिएको छ । भूमि सुधार कार्यालयले ९ धुर जग्गा र घर निर्माण गर्न २ लाख २५ हजार उपलब्ध गराएर ‘क’ वर्गका मुक्त हलिया परिवारलाई पुनर्स्थापन गरेको हो ।
जग्गा र घर निर्माणका लागि रकम पाएपछि मुक्त हलिया परिवार घर निर्माणमा जुटेका छन् । ‘घर जग्गा नहुँदा सडक किनारमा टहरा बनाएर बस्दै आएका थियौं । अरूका पक्की घर देख्दा हामीले पनि कहिले यस्तो घर बनाउन सकौंला जस्तो लग्थ्यो,’ मञ्जु दमाईले भनिन्, ‘सरकारले रोजगारको पनि व्यवस्था गरिदिए हुन्थ्यो ।’
सामुदायिक वन छेउमा बस्दै आएका सुरेश नागरी घर जग्गा पाउँदा निकै खुसी देखिए । उनले भने, ‘बास पाइयो । अब जागिर चाहियो ।’ अधिकांश मुक्त हलिया परिवारले घर निर्माण गरे पनि केही परिवारले भने आर्थिक अभावका कारण घर बनाउन सकेका छैनन् । ‘सरकारले उपलब्ध गराएको रकममा घर बनाउन सकिन्न,’ मोहन दमाईले भने । पुनर्स्थापनमा परेका मुक्त हलिया परिवारले बालबालिकालाई पढाउन विद्यालय, रोजगार, विद्युत् र खानेपानीको माग गरेका छन् । - रासस
प्रकाशित मिति: शनिबार, चैत ९, २०७५