भाेजपुर : दुर्गम पहाडी जिल्ला भोजपुरबाट सञ्चालन हुने सवारीका चालक र सहचालक अहिले पोसाकमा देखिन थालेका छन् । सवारी दुर्घटना न्यूनीकरण अभियानअन्तर्गत चालक र सहचालकलाई ट्राफिक ज्याकेट वितरण गरेपछि अहिले चालक/सहचालक चिनिन थालेका हुन् ।
प्रदेश नम्बर १ मा हुने सवारी दुर्घटना न्यूनीकरण साथै व्यवस्थापनका लागि अहिले १५ दिने महाअभियान सञ्चालन भइरहेको ट्राफिक प्रहरी कार्यालय भोजपुरका प्रमुख प्रहरी सहायक निरीक्षक (असई) प्रेम शाहले बताए । अभियानका क्रममा उद्योग व्यवसायीसँग छलफल, स्थानीय तहसँग सहकार्य, चालकलाई प्रशिक्षण, साधनको नियमित अनुगमन जस्ता कार्यक्रम भइरहेको शाहले जानकारी दिए ।
दुर्घटना न्यूनीकरण सम्बन्धी पहिलो अभियान सम्पन्न भएपछि दोस्रो चरणको अभियान सुरु भएको प्रसनि शाहले बताए । अभियान अन्तर्गत भोजपुरबाट सञ्चालन हुने सवारी साधनका चालकलाई ज्याकेट पनि वितरण गरिएको छ । जिल्लामा सञ्चालनमा आएका भोजपुर सिद्धकाली यातायात प्रालिलाई एक सय, चोमोलुङमा प्रालिलाई ५०, टयाम्केमैयुङ ५० र हतुवागढी यातायात प्रालिलाई २५ वटा ज्याकेट दिइएको बताइएको छ ।
चालकलाई यात्रुले चिन्न सजिलो होस् भन्ने हेतुले ज्याकेट वितरण गरिएको सिद्धकाली यातायात प्रालि भोजपुरका इन्चार्ज महेश राई बताउँछन् । उनले भने, ‘यातायात व्यवसायी, चालक र यात्रु एकअर्काका अंग भएकाले ट्राफिक नियमको पालनामा सचेत हुनुपर्छ ।’
चालकलाई पोसाक लगाउन अनिवार्य गरिएको भन्दै इन्चार्ज राईले सरकारले तय गरेका ट्राफिक नियम सबैले पालना गरे दुर्घटना स्वतः न्यून हुने बताए ।
भोजपुरबाट हाल धरान, विराटनगर, दमक, इटहरीसम्म साना तथा ठूला सवारीसाधन सञ्चालित छन् भने जिल्लाका ग्रामीण क्षेत्रमा समेत साधन गुड्ने गरेका छन् । भोजपुरसहित प्रदेश नम्बर १ मा चैत १ गते सुरु भएको ट्राफिक महाअभियान १५ दिनसम्म चल्ने ट्राफिक प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, चैत ८, २०७५