आऊ रङ लगाऊ मलाई,
तिमी मित्रताको रङ लगाऊ
म विश्वास थपिदिउँला
तिमी आत्मीयताको रङ लगाऊ
म प्रेम थपिदिउँला
तर सहने छैन
तर सहने छैन कदापि
तिमीले लगाउने रङमा
हेपाइ,चेपाइ, अविश्वास अनि घृणा..!
यो पालि रङ लगाऔं
हामी दुवै मिलेर,
समानता र सहअस्तित्वको
सहयात्री र सहकार्यको
विश्वास र भरोसाको
अब त म पनि थाकिसकें लड्दालड्दै..
यो अस्तित्वको लडाइँ
मेरी हजुरआमा लडिन्
मेरी आमा लडिन्
मेरो जीवन पनि तिमीसँगै लडाइँमा व्यतीत गर्न चाहन्नँ म..
किनकि
मलाई केही गर्नु छ मेरा सन्ततिका लागि ..
मलाई केही गर्नु छ तिम्रा लागि ..
अनि केही गर्नु छ मेरो धर्तीका लागि
तिमीसँगको झगडामा मैले ,
मेरो दाइलाई दुष्मन देख्न बाध्य भएँ
मेरो साथीलाई पराइ सम्झिएँ
तिमीले मलाई..
तिम्रै छायासँग तर्सने बनायौ
पुरुष मेरो दाजु, बाबु
अनि एउटा असल मित्र हो
भन्ने कुरा बिर्सने बनायौ..!!
तर अब आऊ, हामी सँगै जाऔं
मिलेर रङ लगाऔं ...
आऊ रङ लगाऊ मलाई
तिमी मित्रताको रङ लगाऊ
म विश्वास थपिदिउँला
तिमी आत्मीयताको रङ नलगाऊ
म प्रेम थपिदिउँला ..
प्रकाशित मिति: बुधबार, चैत ६, २०७५