काठमाडौँ । वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न वर्षमा एक सय जना विदेश उडाउन नसक्ने कम्पनीको दर्ता खारेजी गर्ने गरि व्यवस्था गरिएको ऐन सरकारले संशोधनको तयारी गरेको छ । श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारीले वर्षमा एक सय उडाउनै पर्ने बाध्यता सहितको ऐन संशोधनको तयारी गरिएको आजको न्युजलाई बताएका छन् । वैधानिक कानुन अनुसार समान धरौटी राखी स्वीकृति लिएका कम्पनी स्वतन्त्र रुपमा व्यापारको अधिकार दिनुपर्ने मान्यता बमोजिम सरकारले त्यो ऐन संशोधनको तयारी गरेको श्रम मन्त्री भण्डारीको भनाई छ ।
वैदेशिक रोजगारीमा व्यापक विकृति आएसँगै सुधारको अपेक्षा गरि यसअघि सरकारले यस्तो ऐनको व्यवस्था गरेको थियो । एक वर्षमा एक सय जना पनि विदेश पठाउन नसक्ने कम्पनीहरूले खाली लाइसेन्समात्र ओगट्ने भएकाले उनीहरूको दर्ता खारेज गर्नुपर्ने मान्यता यसअघि आएको थियो । सरकारको त्यो व्यवस्थाको साना व्यवसायीले निरन्तर विरोध गर्दै आएका थिए । यद्दपि यसअघि कोरोना महामारीको कारण देखाउदै मन्त्रिस्तरीय निर्णय गरेर त्यस्ता व्यवसायीलाई छुट दिइदै आएको थियो ।
संशोधनको तयारी स्वरुप मन्त्रिपरिषद्ले संसद्मा यो विषय प्रवेश गराएको भएपनि कानुन मन्त्रालयले मौजुदा ऐन संसोधन गर्न आवश्यक नभएको राय दिएको छ । संशोधनको प्रयास गरिएपनि यसपटक पनि मन्त्रिस्तरीय निर्णयबाटै त्यस्ता व्यवसायीलाई छुट दिने तयारी गरिएको बुझिएको छ ।
प्रकाशित मिति: सोमबार, असार ११, २०८०