काठमाडौं । सत्तारुढ नेकपाका उपाध्यक्ष वामदेव गौतमले भारतले अतिक्रमण गरेको भूमि समेटेर नयाँ नक्सा सार्वजनिक गर्ने निर्णय पार्टीको सामूहिक प्रयासबाट सम्भव भएको बताएका छन् ।
बुधबार एक प्रेस नोट सार्वजनिक गर्दै उपाध्यक्ष गौतमले पार्टी निर्णय अनुसार भएको कामलाई लिएर निश्चित व्यक्तिको देवत्वकरण नगर्न समेत आग्रह गरेका छन् ।
अनुयायीहरु व्यक्ति केन्द्रित हुन्छन् र निश्चित व्यक्तिका नामलाई देवत्वकरण गर्न व्यस्त हुने प्रचलन छ , गौतमले भनेका छन्, तर, यो निर्णय पार्टीको सामूहिक निर्णयप्रक्रिया अनुसार भएर, नेपाल सरकारबाट पनि त्यहीअनुरुप अनुमोदन भएको वास्तविकतालाई सबैले स्वीकार गर्नुपर्छ ।
नेपालका अतिक्रमित भूमिलाई समेटेर नक्सा जारी गर्नुपर्ने प्रस्ताव पार्टी बैठकमा आफूले नै लगेको गौतमले दाबी गरेका छन् । ‘सुरुदेखि नै पार्टीमा सशक्त विचार र जोडदार माग राख्दै आएको म सबैमा स्मरण गराउन चाहन्छु । यसपटक पनि छुटेका नेपाली भू–भाग समेटेर नक्सा जारी गर्नुपर्ने प्रस्ताव पार्टीको बैठकमा मैले नै राखेको यहाँहरु सबैमा जानकारी गराउँछु’, उनले लेखेका छन् ।
प्रकाशित मिति: बुधबार, जेठ ७, २०७७