काठमाडौं : नेपाल विद्यार्थी संघले कांग्रेस नेता डा. मीनेन्द्र रिजालकै क्याम्पसको भित्तामा ‘माफिया’ लेख्दै विरोध सुरु गरेको छ । नेविसंघ पोखरा विश्वविद्यालयका तर्फबाट संघका निवर्तमान केन्द्रीय सदस्य नवराज त्रिपाठीको नेतृत्वमा गएको टोलीले रिजाल अध्यक्ष रहेको मध्यबानेश्वरस्थित एपेक्स कलेजसहितका क्याम्पसका भित्तामा माफिया लेखेको हो ।
पोखरा विश्वविद्यालय अन्तर्गत काठमाडौमा रहेका ३२ क्याम्पसमा विरोध प्रदर्शनसहित माफिया लेख्ने क्रममा त्रिपाठीसहित दर्जन बढी नेता,कार्यकर्ता पक्राउ परेका छन् । पक्राउ पर्नेमा संघका नेताहरू मनिष सिंखडा , चेतराज कँडेल ,पौल बज्राचार्य,अर्बत खड्का,केयुर न्यौपाने, कृष्ण पुडासैनी,सरोज थापा, प्रशान्त थापा, दीपेश ओली, निराज घिमिरे र सुरज ऐर रहेका छन् ।
नेविसंघका विद्यार्थीले एपेक्स ,टाइम्स, राजधानी लगायतका कलेजमा माफिया पेन्टिङ गरेका थिए । पोखरा विश्वविद्यालय अन्तरगतका कलेजहरूको लापरवाहीका कारण परीक्षा दिनबाट बञ्चित ३ सय बढी विद्यार्थीको भविष्यमाथि खेलबाड भएको भन्दै आफुहरू त्यसको विरोधमा उत्रिएको नेता त्रिपाठीले बताए । ‘नियम विपरीत क्याम्पसले भर्ना लिएका विद्यार्थी ३९१ जना छन् । उनीहरूको परीक्षा पोखरा विश्वविद्यालयले नलिने भएकाले विद्यार्थी अलपत्र परेका छन्,’ उनले भने, ‘त्यसैले विरोधको कार्यक्रम गर्नुपरेको हो ।

के हो विवाद ?
पोखरा विश्वविद्यालय अन्तर्गत रहेको क्याम्पसहरूलाई एनइबी परिक्षामा डी प्लस ल्याएका विद्यार्थीहरूलाई भर्ना नदिन भनेको थियो । तर, क्याम्पसहरूले भर्ना लिए । यसरी डी प्लस ल्याएका ३९१ जना विद्यार्थीको भर्ना भयो । तर, रजिष्टेसन फरम क्याम्पसले भरेर पठाए पनि विश्वविद्यालयले भने लिन मानेन । प्रति विद्यार्थीले करिब पाँच लाख खर्च गरेर पढिसक्दा रजिष्ट्रेसन फारम नभरिँदा उनीहरू परिक्षा दिनबाट बञ्चित हुनुपरेको छ ।


प्रकाशित मिति: आइतबार, चैत १७, २०७५