अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले आउँदो हप्ता मध्यपूर्वका देशहरुको भ्रमण गर्ने भएका छन् ।
क्षेत्रीय तथा सुरक्षासम्बन्धी विषयहरुमा छलफल गर्न उनी कुवेत, लेबनान, इजरायल लगायतका देशहरुको भ्रमण गर्न लागेकाे अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका सहप्रवक्ता रोबर्ट पालाडिनोले जारी गरेको वक्तव्यमा अर्को हप्ताको मङ्गलबार पोम्पेओ त्यसतर्फ प्रस्थान गर्ने उल्लेख छ । सबैभन्दा पहिले उनी कुवेत जानु हुनेछ भने त्यसपछि उहाँ जेरुसेलम र बेरुत पुग्ने कार्यक्रम रहेको छ ।
जेरुसेलममा रहँदा उनले जेरुसेलमलाई नै अमेरिकाले इजरायलको राजधानी मानेको सन्देश स्मरण गराउनुहुने भएको छ । त्यहाँ उनले इजरायल, साइप्रस र ग्रिसका उच्च अधिकारीहरुसँग छलफल गर्ने कार्यक्रम छ ।
विदेश मन्त्री पोम्पेओले उनीहरुसँग ऊर्जा र सुरक्षाका सम्बन्धमा पूर्वी भूमध्यसागर क्षेत्रले भोगिरहेको समस्याका बारेमा छलफल गर्ने जनाइएको छ ।
प्रकाशित मिति: शनिबार, चैत २, २०७५