‘हाम्रो नारा नै के थियो भने अब की बार एक हि माग जनमत संग्रह की हो ऐलान । राज्यले नेपाली जनतामा रहेको सार्वभौमसत्तालाई स्विकार गर्दै सहमतिको बुँदा नम्बर २ मा हामीलाई राजनीतिक स्पेश दिनुभएको छ । जे चाहिन्छ त्यही जनमतबाटै लिए हुन्छ । यहाँ जनतानै सर्वोपरि हो । जनता भन्दा ठुलो कोही छैन । यो जनताको पनि जित हो, राज्यको पनि जित हो ।’
–सिके राउत (राष्ट्रिय सभागृह, शुक्रबार)
पृथकतावादी आन्दोलनको अभियोगमा रिहा भएको १२ घण्टा वितेलगत्तै राउतले यसो भनिरहँदा राष्ट्रिय सभा गृह तालीले गुञ्जाहट भयो । त्यसो भनिरहँदा साक्षी थिए प्रधानमन्त्री केपी ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड । ओली सत्ता र दाहाल देशकै ठुलो, दुई तिहाईको शक्तिशाली सत्तारुढ दलका मुख्य नेता राउतलाई महत्व दिएरै उपस्थित थिए । कार्यक्रमको शुरुमै राष्ट्रिय गान बज्यो ,‘ सयौं थुँगा फूलका हामी एउटै माला नेपाली..’ सबैले राष्ट्रगान बजिरहँदा उठेर सम्मान दर्साए । त्यो दृश्यले सायद ओली भित्रभित्रै गम्दै थिए, स्वराज मधेसको अलग गान बनाइसकेका पृथकतावादी राउतलाई मूलधारमा ल्याएँ । काँचको पर्दामा सभागृह नियालीरहँदा राउतपछि बोलेका प्रधानमन्त्री ओलीले जे चाहिन्छ त्यही जनमतबाटै लिए हुन्छ भन्ने राउतको भनाईको खण्डन गर्लान् भन्ने लागेकाे थियो । जे चाहिन्छ त्यही जनमतबाटै लिए हुन्छ अर्थात घुमाउरो भाषामा स्वतन्त्र मधेसबारे जनमत संग्रहमा गए हुन्छ भन्ने राउतको भनाईमा जवाफै आएन । प्रधानमन्त्रीले बोल्ने क्रममा सो बारे नबोल्दा उपयुक्त हुने लाग्यो वा बोलिरहन नपर्ने विषय ठान्नुभयो प्रधानमन्त्री स्वयं नै जान्नुहोला ।
एउटा पृथकतावादी आन्दोलनमा लागेको समुहलाई मूलधारमा ल्याउनु स्वागतयोग्य नै मान्न सकिन्छ । तर, आशा गरिएका प्रधानमन्त्रीसँग त्यतीबेला निराशा उत्पन्न भयो, जब उनले पृथकतावादी अभियन्ता सिके राउतसँग आफ्नै ‘को पाइलट’ प्रचण्डसँग तुलना गरिदिए । दर्शकको भूमिकामा रहेका प्रचण्डले ओली पछाडी बोल्न पाएका भए सायद के बोल्दा हुन् ? प्रश्न अनुत्तरित नै रह्यो ।
बोलेर नथाक्ने भनेर स्थापित केपी ओलीले भनिदिए, राउत दार्शनिक । प्रचण्डजस्तै क्षमतावान । असाधारण पनि । ओलीको अभिव्यक्तिलाई लिएर नेकपाभित्रै चर्को आलोचना भयो । नेकपाभित्र ‘राष्ट्रवादी’ छविका नेता भीम रावलले त भनिदिए, ‘के अब हामी सिके राउतकै दर्शनमा चल्ने हो ?’ उनको व्यंग्यात्मक जवाफले नेकपामा तरंग आयो । रावल चट्टानझै खडा भए आफ्नो अडानमा । प्रतिपक्षीविरुद्ध तयार गरिएका ‘अरिंगाल’हरु आफ्नै नेताविरुद्ध खनिए । संसदमै पनि आफ्नै दलका सांसदले सांकेतिक प्रहार गर्न छाडेनन् रावलमाथी ।
एउटा कविले कतै लेखेका छन्, मानिसलाई घाउ त के दुख्छ र ? जति घाउको सम्भावना दुख्छ । सायद नेपाली राष्ट्रवादी,देशभक्त नागरिकलाई त्यस्तै देशमाथी लाग्न सक्ने सम्भावित डरलाग्दो घाउको सम्भावना दुख्न थालेको छ । नजिकै लेण्डुप दोर्जे र अलिक पर जिन्ना देखेका नेपाली नागरिकहरुलाई सायद त्यस्तै त्यस्तै घाउको सम्भावना दुखिरहेको छ ।
करिब करिब ‘मधेसको मसिहा’ का रुपमा सत्ताले महिमा मण्डित गरेका राउत आइतबार मधेसको केन्द्र जनकपुर पुगे । सोही समयमा संघीय संसदमा प्रमुख प्रतिपक्षी र आफ्नै दलका सांसदहरुको प्रश्नहरु झेल्दै थिए ११ बुँदेका हस्ताक्षरकर्ता गृहमन्त्री रामबहादुर थापा । उनले बाहिर हल्ला भएजस्तो जनमत संग्रहको सम्झौता नभएको दाबी दोहोर्याए । तर, त्यती नै बेला जनकपुरमा स्वतन्त्र मधेसको नारा लाग्दै थियो । ११ बुँदे सहमतिको ६ नम्बर बुँदा नेपाल राज्यको प्रदेश नम्बर २ कै राजधानीमा उल्लंघन हुँदै थियो ।
‘स्वतन्त्र मधेस गठबन्धन तथा यसका नेता कार्यकर्ताद्धारा यसअघि तयार पारिएका र पहिले प्रचारमा गएका किताब,पर्चा पम्प्लेट,घोषणापत्र,गीत,नक्सा,नारा,झण्डा,अनलाइन सामाग्री आदीलाई भविष्यमा कारवाहीको विषय बनाइने छैन,’ बुँदा नम्बर ६ मा थियो, ‘ आगामी दिनमा संविधानको व्यवस्था र यस सहमति प्रतिकूलका प्रचार सामाग्री उत्पादन तथा वितरण गरिनेछैन ।’ तर, उही नारा लाग्यो, स्वतन्त्र मधेसको । उही झण्डा प्रयोग भयो । सहमतिको मसी सुक्न नपाउँदै जनकपुरमा सिधासिधा सहमतिको उल्लंघन भयो । यसले राउत अझै पनि पृथकतावादी आन्दोलनमै छन् भन्ने दाबीलाई बल पुर्याएको छ । मूलधारमा ल्याइसकिएको सरकारी दाबी सहमतिको केही घण्टामै खण्डित हुन पुगेको छ । सरकारले पृथकतावादी अभियन्तालाई हतारमा विश्वास गरेर गल्ती गर्यो भन्ने आशंकाहरु बलियो बनेकाे छ । सरकारको विश्वसनीयतामा बादल लाग्ने त होइन भन्ने आभाष नागरिक पंक्तिमा देखिन थालेको छ ।
सुरुमै संशयमा परेको सरकार र राउत ११ बुँदे राउतका पछिल्ला गतिविधिले थप आशंका थपेको छ । आशका नागरिक तहमा मात्र सिमित छैन । समाजका विभिन्न तहबाट व्यक्त भइरहेको छ । पछिल्ला २४ घण्टा सामाजिक सञ्जाल र चियाचौताराका छलफल सुन्ने हो भने पनि आशकाको तह थाहा पाउन सकिन्छ । संविधानविद् भिमार्जुन आचार्यको यो प्रश्नलाई प्रतिनिधिमूलक प्रश्नका रुपमा लिन सकिन्छ । आचार्य लेख्छन्, ‘आज तराईमा सुरक्षाकर्मीहरु कै घेरा भित्र ’स्वतन्त्र र पृथक मधेश’ का नाराहरू घन्काइए । नेपाल राज्यको जन्म भए यता आफ्नै माटोमा नेपालीले यस्तो दृश्य कहिल्यै देखेका थिएनन् । के सरकार र उसको गठबन्धनलाई राष्ट्रमाथि यो हदसम्मको ठट्टा र घात गर्ने अधिकार छ ?’ सायद सिंगो नेपाली समाज यही प्रश्नको जवाफको पर्खाइमा छ ।
एउटा कविले कतै लेखेका छन् , मानिसलाई घाउ त के दुख्छ र ? जति घाउको सम्भावना दुख्छ । सायद नेपाली राष्ट्रवादी,देशभक्त नागरिकलाई त्यस्तै देशमाथी लाग्न सक्ने सम्भावित डरलाग्दो घाउको सम्भावना दुख्न थालेको छ । नजिकै लेण्डुप दोर्जे र अलिक पर जिन्ना देखेका नेपाली नागरिकहरुलाई सायद त्यस्तै त्यस्तै घाउको सम्भावना दुखिरहेको छ ।
प्रकाशित मिति: सोमबार, फागुन २७, २०७५