काठमाडौं : भारतको लोकसभा निर्वाचनको मतदान सात चरणमा हुने भएको छ। आगामी ११ अप्रिलदेखि सुरु हुने मतदान १९ मेमा सकिनेछ भने मतगणना २३ मेबाट सुरु गरिनेछ ।
भारतीय निर्वाचन आयोगले आइतबार साँझ पत्रकार सम्मेलन गरी लोकसभा निर्वाचनको तालिका सार्वजनिक गरेको हो। निर्वाचन आयोगका अनुसार तेलंगना, तामिलनाडू, झारखण्ड, अन्डमान एण्ड निकोबार र दादरमा पहिलो चरणमा निर्वाचन हुनेछ । कर्नाटक, मनिपुर, राजस्थान र त्रिपुरामा दोस्रो चरणमा निर्वाचन हुनेछ भने आसाम र छत्तिसगढ राज्यको निर्वाचन तेस्रो चरणमा सकिने आयोगले जनाएको छ ।
झारखण्ड, मध्य प्रदेश, महाराष्ट्र र ओडिसाको चौथो चरणमा तथा झारखण्डमा पाँचौँ चरणको चुनाव हुनेछ भने विहार, उत्तर प्रदेश र पश्चिम बंगाल प्रदेशमा सातौँ चरणको निर्वाचन हुने निर्वाचन आयोगले जनाएको छ ।
आगामी निर्वाचनमा झण्डै ९० करोड मतदाताले मतदान गर्ने निर्वाचन आयोगले जनाएको छ । निर्वाचनको मिति घोषणा भएसँगै भारतमा आइतबारबाटै आचारसंहिता लागू गरिएको छ । भारतको संविधानअनुसार तल्लो सदनमा ५४३ जना सांसद निर्वाचित हुनेछन् ।
नयाँ सरकारका लागि वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदी र कांग्रेस अध्यक्ष राहुल गान्धीबीच प्रतिस्पर्धा हुने देखिएको छ। देशभर सय बढी पार्टीहरू पनि प्रतिस्पर्धामा रहने अधिकारीहरूले बताएका छन् ।
यसअघि सन् २०१४ मा भएको निर्वाचनमा बहुमत प्राप्त गरी भारतीय जनता पार्टी (भाजपा)का नेता मोदी प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् । हिन्दु राष्ट्रवादी मुद्दा, मोदीको व्यक्तिगत लोकप्रियता, आकर्षक चुनावी नारा, पाकिस्तानसँगको लडाइँलगायतका कारणले मोदीले निर्वाचन आफ्नो पक्षमा पार्न सफल भएको विश्लेषकहरूले बताउँदै आएका छन् ।
भारतको राजनीतिमा लामो समयदेखि प्रभावशाली गान्धी परिवारका नयाँ उत्तराधिकारी राहुलसँग मोदीको प्रतिस्पर्धा रोचक हुने अनुमान धेरैले गरेका छन् ।
प्रकाशित मिति: आइतबार, फागुन २६, २०७५