टोकियो ः जापानकी काने तानाकाले संसारकै ज्येष्ठ नागरिकका रूपमा रेकर्ड बनाएकी छन् । उनले विश्वकै सबैभन्दा ज्येष्ठ व्यक्तिका रूपमा मान्यता पाएको गिनिज वल्र्ड रेकर्डले शनिबार जनाएको छ ।
विश्वकै पहिलो विमान उडाउने राइट्स ब्रदर्स जन्मेको वर्ष सन् १९०३ को जनवरी २ मा जन्मिएकी तानाका अहिले ११६ वर्ष पुगेकी छन् । उनी ४ सन्तानकी आमा हुन् तर पछि १ सन्तानलाई भने उनले धर्मसन्तानका रूपमा संरक्षण दिएकी छन् ।
तानाकालाई विश्वकै सबैभन्दा वृद्ध व्यक्तिका रूपमा मान्यता दिएपछि उनको भव्य सम्मान गरी खुसियाली मनाइएको छ । अहिले उनलाई एक नर्सिङ होममा राखी रेखदेख गरिँदै आएको छ ।
उनका लागि जीवनमा सबैभन्दा सुखद क्षण कुन रह्यो भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले संक्षिप्तमा भनिन्, ‘अहिले ।’
सामान्यतया हरेक बिहान ६ बजे उठ्ने तानाका अहिले पनि दिनभर गणितका कुरा र सुन्दर हस्तलेखन अभ्यासमै व्यस्त हुन्छिन् । उनले बसेर खेल्न सक्ने खेलहरू खेल्न मन पराउने, गिनिज वल्र्ड रेकर्डसले जनाएको छ ।
विश्वका धेरै बाँच्ने मुलुकका नागरिकको जस्तै जापानीहरूको आयु पनि दीर्घ रहने गरेको पाइन्छ ।
जापानी जिरोएमोन किमुरा कानुनी रूपमा रेकर्ड गरिएका व्यक्तिमध्ये विश्वकै सबैभन्दा बढी बाँच्ने पुरुष थिए, जसको मृत्यु ११६ वर्षको उमेरमा सन् २०१३ को जुनमा भएको थियो ।
गिनिज रेकर्डका अनुसार विश्वकै सबैभन्दा बढी बाँच्ने व्यक्तिका रूपमा भने फ्रान्सकी जेन लुईस केल्मेन्ट हुन् जसको मृत्यु सन् १९९७ मा १२२ वर्षको उमेरमा भएको थियो ।
प्रकाशित मिति: आइतबार, फागुन २६, २०७५