थाइल्याण्डको राजनीतिमा ठूलो प्रभाव रहेको सिनावात्रा परिवारको पार्टीलाई अदालतले विघटन गरिदिएको छ ।
देशका पुर्वप्रधानमन्त्रीद्वय थाक्सिन सिनावात्रा र यिङ्लक सिनावात्राको थाई रक्षा चार्ट नामक पार्टीलाई अदालतले बिहीबार विघटन गरिदिएको अधिकारीहरूले बताएका छन् ।
पूर्वनिर्धारित कार्यतालिकाअनुसार आमनिर्वाचनका लागि मतदान गर्ने दिन आउन एक हप्ता बाँकी रहँदा अदालतले सो पार्टी विघटनको फैसला गरेको हो ।
राजकुमारीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने प्रयास गरेर पार्टीले अवैध र गलत काम गरेको भन्दै अदालतले विघटन गरिदिएको बताइएको छ ।
संवैधानिक अदालतका नौ सदस्यले सर्वसम्मत सो पार्टी विघटन गर्ने निर्णय गरेको समाचारमा जनाइएको छ ।
थाइल्याण्डकी राजकुमारी उबोलरत्ना महिडोलले केही हप्ता अगाडि रक्षा चार्टबाट उम्मेदवार बन्ने घोषणा गरेकी थिइन् । प्रधानमन्त्रीका लागि उम्मेदवारी दिने घोषणा गरेकी राजकुमारीलाई निर्वाचन आयोगले उम्मेदवार बन्न अयोग्य रहेको घोषणा गरेको थियो । उनले उम्मेदवारी घोषणा गरेको केही घण्टामै उनका भाइ तथा थाइल्याण्डका राजा माहा वाजिरालोङकोर्नले आफ्नी ठूली दिदीको घोषणाप्रति असन्तुष्टि जनाएपछि आयोगले उनलाई अयोग्य घोषणा गरेको हो ।
राजपरिवारका सदस्य दलीय र सक्रिय राजनीतिमा संलग्न हुनु उचित नहुने राजाको भनाइअनुसार ६७ वर्षीया राजकुमारी महिडोललाई आयोगले अयोग्य घोषणा गरिदिएको थियो । थाइल्याण्डमा राजसंस्थालाई उच्च सम्मानका साथ पवित्र संस्थाका रूपमा हेरिने भएकाले राजसंस्थाको आसयलाई पालना गरेको पाइन्छ ।
राजाकै आसय र असन्तुष्टिलाई ध्यानमा राखेर निर्वाचन आयोगले राजकुमारी महिडोललाई निर्वाचनमा सहभागी नगराउन अयोग्य घोषणा गरेको अधिकारीहरूले बताएका छन् । आफ्ना भाइको असन्तुष्टि र निर्वाचन आयोगले अयोग्य घोषणा गरेपछि राजकुमारी उबोलरत्नाले पनि क्षमा माग्दै आफू उम्मेदवार बन्ने बताएकी थिइन् ।
यसरी राजपरिवारलाई विवादमा तानेको र गलत राजनीतिक चलखेल गरेको भन्दै रक्षा दाललाई निर्वाचनमा भाग लिन नपाउने गरी बन्देज लागेको छ । थाइल्याण्डमा यही मार्च २४ तारिखमा आमनिर्वाचन हुन लागेको छ ।
अदालतले सिनावात्रा परिवारका दुई सदस्यसहित सो पार्टीका केही नेताहरूलाई एक दशकसम्म राजनीतिमा प्रतिबन्ध पनि लगाएको छ ।
प्रकाशित मिति: बिहीबार, फागुन २३, २०७५