इब्राहिम शहाब/बीबीसी
ओमानको पहाडी चट्टानमा पछिल्लो ५०० वर्ष बढी समयदेखि एउटा दूरदराज इलाकामा एउटा जनजाति समूहले जीवन बिताइरहेको छ ।
ओमानको मस्कटको बलुवा तटबाट १९५ किलोमिटर दक्षिण–पश्चिममा ओमानको मैदानी इलाका चुनढुंगाको एउटा अग्लो चट्टानसँग जोडिन्छ । दुई हजार नाै सय ८० मिटर अग्लो यो पहाड जबाल–अल–अखदार हरियो पहाड (ग्रिन माउन्टेन)का रूपमा चिनिन्छ । घुमाउरो घाँटी र गहिरा खोँचहरू भएको यो देशको एउटा सुदूर क्षेत्रमा रहेको कुनो हो ।
सडक सकिएपछि अघि बढ्न पैदल, खच्चड या अल टेरेन सवारीबाट आउन सकिन्छ । २० किलोमिटरको घुमाउरो, कच्ची र खाल्डाखुल्डी परेको बाटो अघि बढेपछि एउटा पहाडको काखमा करिब करिब हावामा भुन्डिएजस्ता घरको एउटा सानो समूह देखिन्छ ।
यही ठाउँ हो, अल सोगारा । यो यस्तो दूरदराजको गाउँ हो, जुन पहाड काटेर बनाइएको छ र यहाँका मानिसहरू पछिल्लो ५०० वर्षभन्दा लामो समयदेखि यहाँ बसिरहेका छन् ।
चट्टानी बाटो
अहिले यो ग्रिन माउन्टेनलाई ओमानको एउटा अद्भुत परिदृश्यको दर्जा दिइन्छ । तर जुनसुकै यात्री पनि अल सगार पुग्न सक्छन् । सन् २००५ सम्म यो पहाडी शृङ्खलामा विदेशीलाई प्रवेश गर्न प्रतिबन्ध थियो किनकि यहाँ ओमान सरकारको सैन्य टुकडी थियो ।
हालका दिनमा यो सानो गाउँमा जानका लागि आफ्नो सवारी साधनलाई ढुंगैढुंगाको बाटोको अन्त्यमा छाड्नुपर्छ र फेरि खाल्डमखुल्डी भएको बाटोबाट माथि ढुंगाका सिँढीहरू करिब २० मिनेटजति उकालो चढ्नुपर्छ ।
यो क्षेत्रमा यस्ता एकान्तमा रहेका केही गाउँ छन् तर अल सोगारीचाहिँ यस्तो स्थान हो, जहाँ अहिले पनि मानव बस्ती छन् । मुख्य पहाडी शहर सेह कतानाबाट करिब ४० किलोमिटरको दूरीमा रहेको अल सोगारा यो क्षेत्रको सबैभन्दा एक्लो गाउँ हो र पूरै ओमानमा सबैभन्दा सुदूर क्षेत्रमा बसेको बस्तीमध्ये एक हो ।
१४ किलोमिटर टाढा स्कुल
१४ वर्षअघिसम्म अल सोगारामा बिजुली या फोन हुँदैनथ्यो । यसको सबैभन्दा नजिकको सडक १५ किलोमिटर टाढा थियो । परम्परागत रूपमा सामानको ओसारपसार नजिकै रहेको निजवा र बिरकत अल मुज शहरबाट खच्चडबाट गरिन्थ्यो ।
तर सन् २००५ मा मानिसले ढुंगैढुंगाले बनेको सो क्षेत्रमा सामान्य खालको बाटो खोले, जसले गर्दा बस्तीबाट सडकसम्म सामान ढुवानीमा सहजता भयो ।
स्थानीय बासिन्दालाई सो स्थानमा ४५ जना बढी जनसंख्या भएको याद छैन । अर्थात् सो स्थानको जनसंख्या निकै न्यून छ । स्कुल नभएका कारण स्थानीयबासीको पुरानो पुस्ताले घरमा नै लेखपढ गर्न सिके ।
तर सन् १९७० को दशकदेखि त्यहाँका बच्चाहरू १४ किलोमिटर टाढा रहेको सहर स्याकको स्कुलमा पढ्न जान थाले । स्कुल जानका लागि उनीहरूले अप्ठ्यारा सिँढी ओर्लिएर अर्को बाटोतर्फ पैदल जानुपर्छ, जहाँबाट एउटा कारले त्यहाँका बच्चाहरूलाई स्कुलसम्म छोड्थ्यो ।
अल सोगारामा आफ्नो पूरै जीवन बिताएका छात्र मोहम्मद नासेर अलसरिकी भन्छन्, ‘हामी यहाँ बस्छौँ र यो स्थानको माया छ । मानिस फरक हुन्छन् र उनीहरूलाई आफ्नो मातृभूमि प्यारो लाग्छ ।’
भित्रबाट गुफा बाहिर पर्खाल
हाल यो पहाडी क्षेत्रमा सरिकी जनजातिका ५ परिवार बस्छन् । यो समूह जोर्डनबाट करिब १ हजार वर्ष पहिले यहाँ आएर बस्न थालेको हो ।
यसै स्थानमा पढेका र हुर्किएका सलेम अलसरिकीका अनुसार यति बेला यो गाउँको जनसंख्या २५ मात्रै छ । गाउँ सानो छ, त्यस कारण बस्नेहरू पनि कम छन् । सलेम र अरू बासिन्दाका अनुसार सबै गाउँलेहरू अल सोगारामा ५०० वर्षभन्दा लामो समयअघि आएका पूर्वजका सन्तान हुन् ।
यति लामो समय र धेरै पिँढीपछि पनि अलसरिकी समुदायले प्राचीन पद्धतिबाट घर बनाउने कलालाई बचाएर राखेका छन् । यसमा या त ढुंगा या चिप्लो माटो प्रयोग गरिएको हुन्छ वा ढुंगा काटेर बनाइएको हुन्छ ।
सलेम भन्छन्, ‘हाम्रा पूर्वजले यहाँ आएर बाहिरबाट भित्रको अरू पर्खाल बनाए र पहाडमा नै बसे । भित्रबाट हाम्रो घर गुफा जस्तो छ । यदि पर्खाल नहुने हो भने पहाडमा गुफा नै देखिन्छ ।’
चिसो मौसम
समुद्रको किनारबाट २ हजार ७०० मिटरको उचाइमा रहेको अल सोगारा ओमानको ती निश्चित क्षेत्रमा पर्छ, जहाँ नियमित हिमपात हुन्छ ।
यस विषयमा मोहम्मद नासेल अलसरिकी भन्छन्, ‘यहाँ धेरै भीषण चिसो पनि हुन्छ । हामी चुनढुंगा र चिप्लो माटोले आफ्नो घर बनाउँछौँ, जसबाट ग्रिन माउन्टेनमा हुने चिसोबाट बचाउन सकियोस् र गर्मीमा पनि राहत होस् ।’
स्थानीयबासीका अनुसार उनीहरूका पूर्वजले त्यहाँका सीमित स्रोत साधनको प्रयोग गरेर पहाडमा आफ्ना आबास तयार गरेका थिए, जसमा ढुंगालाई धूलो पारेर पानीमा मिलाएर चिप्लो माटोको पर्खाल बनाए र फेरि चुनढुंगा काटेर ढुंगामा नै कोठा तयार गरेका थिए ।

कसरी बस्छन् स्थानीय ?
स्थानीयबासीले केवल पहाड काटेर आफ्नो घर बनाउँछन् तर यिनै घरमा पशुपालनसमेत गर्छन् । केही शताब्दीदेखि अल सोगाराका परिवारले घरपालुवा जनावरलाई जंगली जनावरबाट बचाउन गुफाको मुख थुन्ने गर्छन् ।
अलसरिकी जनजातिको अरू क्षेत्रका मानिसहरूको जस्तै पशुको अर्थ समृद्धि हो, जुन व्यक्तिसँग जति धेरै बाख्रा, भेडा र खच्चड हुन्छ, त्यो त्यति नै सम्पन्न मानिन्छ । मोहम्मद नासेर भन्छन्, ‘पशुपालनसँगै उनीहरू खेती पनि गर्छन् । अनार, खजुर, नासपाती, आरु, बदाम, लसुन, प्याज र अन्य सब्जीहरू उत्पादन गर्छन् ।’
ओमान र अरब क्षेत्रका अन्य देशका जनता जस्तै अल सोगाराका जनजाति पनि पाहुनाको स्वागत सत्कार गर्छन् र पाहुनालाई दिनभर नै खाने पिउने व्यवस्था मिलाउँछन् । त्यसपछि बल्ल आफ्नो गाउँघरको भ्रमण गर्नुका कारण सोध्छन् ।
सिँचाइको अद्भुत तरिका
ओमानको दूरदराजका क्षेत्रमा जिन्दगी चलाउनेमध्ये एक प्राचीन आदिबासीमध्ये एक उनीहरूले सिँचाइको कुशल प्रणालीको विकास गरेका छन्, जसलाई ‘अफ्लाज’ भनिन्छ । यसमा पानीलाई गुरुत्वाकर्षण शक्तिको सहायताले भूमिगत स्रोतबाट उठाएर सिँचाइ गरिन्छ ।
५०० इस्वी संवतबाट प्रयोगमा ल्याइएका नहरको कुनै समयमा यति महत्त्व थियो कि यसको रक्षाका लागि ठाउँठाउँमा विभिन्न संरचना बनाइएको छ ।
अल सोगारासहित आज पूरै ओमानमा यस प्रकारका करिब ३ हजार नहर छन्, जहाँ भूमिगत स्रोतबाट ‘अफ्लाज’ का माध्यमबाट पानी उपलब्ध गराइन्थ्यो । तर जलवायु परिवर्तनका कारण २० देखि ५० किलोमिटर लामो केही सिँचाइ मार्गमा अब पहिलेजस्तो पानीका प्रवाह हुन छाडेको छ । ग्रिन माउन्टेन पनि अब धुलो र बालुवाको पहाड बन्दै छ ।
मोहम्मद नासेर सम्झिन्छन्, ‘यी नहर सयौँ वर्ष पहिले यहाँ रहने स्थानीयले बनाएका थिए । हरेक दुई परिवारले एउटा नहर प्रयोग गर्दथ्यो र आफ्नो भागको पानी चलाउँथ्यो । यो भागबन्डा नहर बनाउनका लागि गरेको श्रमदानका आधारमा तय हुन्थ्यो । तर अब पानी कम हुनुका साथसाथै स्थानीयको उत्पादन पनि कम हुन थालेको छ ।’
खतरामा भविष्य
पछिल्ला दिनमा अल सोगारामा उपलब्ध कामको कमीका कारण यहाँका धेरैजसो सर्वसाधारण कामको खोजीमा मस्कट र निजवा जस्ता स्थानतर्फ गएका छन् । यसका कारण ओमानको सुदूर भागमा रहेको यो चट्टानको बस्ती पनि खतरामा परेको छ ।
केही गाउँलेहरू कुनै समय हराभरा रहेको यो पहाडको गाउँभन्दा टाढा गइसकेका छन् । तर यहाँ बाँकी रहेका मानिसहरू दिन प्रतिदिन उठेर बाख्रा चराउने, खजुरको रुखबाट खजुर टिप्ने, पानी लैजानका लागि ‘अफ्लाज’सम्म जाने काम गरिरहेका छन् ।
मोहम्मद नासेर भन्छन्, ‘भविष्य सधैँ वर्तमानमा निर्भर गर्छ । यदि हामीले यो स्थानको ध्यान राख्न सक्यौँ भने हाम्रो आगामी पुस्ता या हाम्रा नाति पनाति यही गर्नेछन् । तर यदि हामीले यी घरलाई ध्यान दिएनौँ, हेरचाह गरेनौँ भने आगामी पुस्ताले यो देख्न पाउनेछैनन्् । अबको १५ वर्षभित्र यी घरहरू नष्ट हुनेछन् ।’
प्रकाशित मिति: बिहीबार, फागुन २३, २०७५