नयाँ दिल्ली ः भारत र पाकिस्तानको सीमा विवाद अझै साम्य भएको छैन । सीमा क्षेत्रमा अझै दुवै पक्षबाट गोली हानाहान जारी रहेको भारतीय पक्षले जनाएको छ ।
भारतीय सेनाका उच्च अधिकारीहरूले दुवै पक्षबाट एक अर्काप्रति गोलावारी जारी रहे पनि कुनै मानवीय क्षति भने नभएको बताएका छन् । उनीहरूले गत २४ घण्टामा भएका गोली हानाहानमा भारतीय पक्षमा कुनै मानवीय क्षति नभएको बुधबार बताएका हुन् ।
गोली हानाहान भए पनि मानवीय क्षति नहुनेतर्फ उच्च सतर्कता अपनाइएको सैन्य अधिकारीहरूले बताएका छन् ।
भारत प्रशासित काश्मिरको पुलवामामा केही समय पहिले भएको आतंकवादी हमलामा ४० भारतीय सुरक्षाकर्मी मारिएपछि २ देशबीच तनाव चर्किएको हो ।
हमलामा पाकिस्तानस्थित चरमपन्थी संगठन जैस(ए मोहम्मदको हात रहेको र आक्रमणकारीलाई पाकिस्तानले संरक्षण दिएको भारतको आरोप पाकिस्तानले अस्वीकार गर्दै आएको छ ।
केही समय भारतले पाकिस्तानको बालाकोटमा हवाई हमला गरेपछि पाकिस्तानले जवाफी कारबाही गर्दा भारतीय लडाकु विमान खसालिदिएको थियो । त्यही विमानमा रहेका एक जना चालकलाई पाकिस्तानले नियन्त्रणमा लिए पनि बिनासर्त पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारततर्फ नै फिर्ता पठाएपछि तनावको स्थिति कम हुँदै गएको हो ।
प्रकाशित मिति: बिहीबार, फागुन २३, २०७५