लुसाका ः टेलिभिजन प्रसारण अनुगमनसम्बन्धी निकाय ‘स्वतन्त्र प्रसारण प्राधिकरण’ले सोमबार जाम्बियाको एउटा टेलिभिजनको प्रसारणमा रोक लगाएको छ ।
निजी क्षेत्रले सञ्चालन गरेको देशको अत्यन्त लोकप्रिय प्राइम टेलिभिजनको प्रसारणमा रोक लगाइएको अधिकारीहरूले बताएका
छन् । ‘गैरव्यावसायिक विषयवस्तु प्रसारण गरेकाले’ सो टेलिभिजनको प्रसारणमा रोक लगाउनुपरेको उनीहरूले उल्लेख गरेका छन् ।
सोमबारदेखि ३० दिनसम्म प्रसारण गर्न बन्देज लगाइएको प्राधिकरणको बोर्ड सचिव जोसेफिन मापोमाले जानकारी दिए । गलत, असन्तुलित, बनावटी सामाचार तथा अन्य सामग्री प्रसारण गरेर कानुनको उल्लंघन गरेको ठहर प्राधिकरण बोर्डले गरेको उनले बताए ।
पत्रकारिताका आधारभूत आचारसंहिता पालना गर्न समेत नसकेकाले कारबाही स्वरूप सो टेलिभिजनको प्रसारण बन्द गराउनुपरेको उनले पत्रकारहरूलाई बताए । उनले यो टेलिभिजनको प्रसारण बन्द गराउनुमा कुनै राजनीतिक कारण नभई प्रसारणसम्बन्धी ऐन उल्लंघन नै प्रमुख कारण भएको दाबी गरे ।
सरकार पक्षीय पार्टी र सरकारको विरुद्धमा अनावश्यक र झुटो विवरण पेस गरेको भन्दै सो टेलिभिजनका विरुद्धमा उजुरी परेको पनि उनले जानकारी दिए ।
प्रकाशित मिति: मंगलबार, फागुन २१, २०७५