भारत र पाकिस्तानबीचको विवादका कारण केही दिन अवरुद्ध भएको दुई देशबीचको रेल सेवा सोमबारदेखि फेरि सुरु भएको छ ।
दुई देशबीचको महत्त्वपूर्ण सेवाको रूपमा रहेको सम्झौता एक्सप्रेसको सेवा सुरु भएको अधिकारीहरूले जानकारी दिएका हुन् ।
पछिल्लो दुई देशीय तनावपछि पाकिस्तानको लाहोरदेखि भारतको नयाँ दिल्लीसम्मको रेल सेवा अवरुद्ध भएको थियो ।
सम्झौता एक्सप्रेसको रेल स्थानीय समयअनुसार सोमबार विहान ११.३० बजे अत्तारी रेल स्टेशन पुगेको थियो , एक जना भारतीय अधिकारीले बताए ।
पाकिस्तानी सञ्चार माध्यमहरूले पाकिस्तानको लाहोरबाट भारततर्फ प्रस्थान गरेको सो रेलमा १५० जना यात्रु रहेको सोमबार जनाएका छन् ।
भारत प्रशासित काश्मिरको पुलवामामा फेब्रुवरी १४ मा भएको आतंकवादी हमलामा ४० जना भारतीय सुरक्षाकर्मी मारिएपछि दुई देशबीच तनाव बढेसँगै रेल सेवा अवरुद्ध भएको थियो ।
सामान्यतया सोमबार र बिहीबार दुई देशबीचमा रेल सेवा संचालन हुँदै आएको थियो । पाकिस्तानको विदेश मन्त्रालयले गत फेब्रुअरी २८ मा दुई देशीय रेल सेवा सञ्चालन नगर्ने घोषणा गरेको थियो ।
तर भारतको राजधानी नयाँ दिल्लीदेखि पाकिस्तानको पन्जाब प्रदेशको राजधानी लाहोरसम्मको अन्तरदेशीय बस सेवा भने रोकिएको थिएन ।
प्रकाशित मिति: मंगलबार, फागुन २१, २०७५