पाकिस्तानी प्रधानमन्त्री इमरान खानले आफू नोबेल शान्ति पुरस्कारका लागि योग्य नभएको बताएका छन् ।
पाकिस्तानी सेनाले नियन्त्रणमा लिएका भारतीय पाइलटलाई रिहा गर्ने घोषणा गरेपछि इमरानलाई नोबेल शान्ति पुरस्कार दिलाउन अभियान सुरु गरिएको थियो । इमरानले भारत पाकिस्तानको युद्धको आशंकालाई टारेर शान्तिको पक्षमा काम गरेको अभियानकर्ताहरूको दाबी छ ।
अभियानमा अहिलेसम्म तीन लाख व्यक्तिले हस्ताक्षर गरेका छन् । तर, पाकिस्तानी प्रधानमन्त्री इमरानले सोमबार ट्वीट गर्दै भनेका छन्, ‘म नोबेल शान्ति पुरस्कार पाउन योग्य छैन । नोबेल शान्ति सम्मानको हकदार त्यो हुने छ, जसले कश्मिरीहरूको इच्छाअनुसार कश्मिर विवाद समाधान गर्छ र पूरै महाद्वीपमा शान्ति र मानवताको विकासको बाटो तयार पार्छ ।’
प्रकाशित मिति: मंगलबार, फागुन २१, २०७५