भारत नियन्त्रित काश्मिरमा भएको दुर्घटनामा परी कम्तीमा ६ जनाको मृत्यु भएको छ भने अरू ३० जना घाइते भएका छन् ।
यात्रु बोकेको बस पहाडी बाटोबाट तल खसेर दुर्घटना भएको स्थानीय प्रहरी अधिकारीले शनिबार जानकारी दिएका छन् ।
भारत नियन्त्रित काश्मिरको गृष्मकालीन राजधानी श्रीनगरबाट झण्डै २०४ किलोमिटर टाढा पर्ने उधाम्पुर जिल्लाको माजाल्तामा शुक्रबार राती दुर्घटना भएको हो ।
दुर्घटनामा परी घाइते भएकामध्ये केहीको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने अधिकारीहरूले बताएका छन् ।
घाइतेलाई उपचारका लागि तत्कालै जम्मुमा रहेको सरकारी मेडिकल कलेजमा लगिएको उनीहरूको भनाइ छ ।
प्रहरीका अनुसार बसले स्थानीय यात्रु बोकेको थियो । उनीहरूले घटनाका बारेमा अनुसन्धान सुरु गरिसकिएको पनि बताएका छन् ।
भारतमा सवारी दुर्घटना अत्यधिक हुने गरेको छ भने दुर्घटनाका कारण वर्सेनि हजारौँको मृत्यु हुने गरेको छ ।
विशेष गरेर सवारी साधन र सडकको अवस्था ठीक नरहनु, चालकको लापर्वाहीलगायतका कारणले भारतमा धेरै दुर्घटना हुने गरेको अधिकारीहरूले बताएका छन् ।
प्रकाशित मिति: शनिबार, फागुन १८, २०७५