मुम्बई ः भारत र पाकिस्तानबीच देखिएको तनावका कारण बुधबार बिहान भारतीय सेयर बजारमा एक्कासि गिरावट आएको छ ।
लगानीकर्ताहरूले सीमा क्षेत्रमा भएको तनाव लामो नरहने विश्वास गरेका छन् । बुधबार दिउँसो पाकिस्तानी विमानले भारत प्रशासित काश्मिरको आकाशमा छिरेको भन्दै भारतीय लडाकु विमानले प्रतिरक्षा गरेपछि पाकिस्तानी विमान फर्केको भारतीय अधिकारीको दाबी गरेका छन् ।
तनावका कारण बुधबार बिहान ११ बजे बम्बई स्टक एक्सचेन्ज एस एन्ड पी सेन्सेक्स कारोबारमा ३६ हजार ३६२ अङ्कको हाराहारीमा रहेकोमा मध्याह्न १२:१५ सम्ममा व्यापक गिरावट देखिएको थियो । मध्याह्नसम्ममा ६१५ अङ्कको भारी गिरावट आई ३५ हजार ७४७ मा भरेको थियो । यद्यपि भारत र पाकिस्तानबीचको तनाव लामो समयसम्म नरहने विश्लेषकहरूको भनाइसँगै बुधबार अपराह्नम्ममा कारोबारमा सुधार आई ३५ हजार ९०५ अङ्कका साथ कारोबार बन्द भएको छ ।
त्यसैगरी राष्ट्रिय स्टक एक्सचेन्ज निफ्टी ५० मा २९ बुधबार २९ अङ्कले गिरावट आई कारोबार १०,८०७ अङ्कसाथ बन्द भएको छ ।
व्यवसायीहरूले भू–राजनीतिक तनाव थप केही दिन जारी रहेमा स्टक बजारमा पनि अनिश्चितता देखिन सक्ने बताएका छन् । यदि भारत पाकिस्तानको नकारात्मक मनोभाव कायम रहेमा बैंक, वित्तीय संस्थान, आधारभूत संरचना, धातु र गाडी कम्पनीहरूको सेयरमा प्रभाव पर्ने अनुमान गरिएको छ ।
यसैबीच, एसियाली स्टक बजारमा भने बढ्दो भू–राजनीतिक विवादको खतराको प्रभाव मिश्रित देखिएको छ । प्रायः एसियाली बजारले भारत–पाकिस्तान विवादलाई गौण देखेका र अमेरिका–चीन व्यापारमा विवादको निष्कर्षलाई नै हेरेका बजार विश्लेशकहरूको भनाइ छ ।
बजार विज्ञहरूले बुधबार भियतनामको राजधानी हनोइमा भइरहेको अमेरिका–उत्तर कोरिया शिखर सम्मेलन र यसले दिने परिणामलाई पनि एसियाली बजार सूचकका रूपमा हेरेका छन् । यदि अमेरिकाले उत्तर कोरियालाई आणविक नि:शस्त्रीकरण गराउन सफल बनेमा एसियाली बजारमा यसको उल्लेख्य लाभ हुने बताइएको छ ।
प्रकाशित मिति: बिहीबार, फागुन १६, २०७५