हनोइ, भियतनाम : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको शिखर सम्मेलनले सकारात्मक नतिजा निकाल्ने आफ्नो विश्वास रहेको उत्तर कोरियाली नेता किम जोङ उनले बताएका छन् ।
दुई नेताबीच भियतनामको राजधानी हनोइमा बुधबार भएको भेटमा किमले ट्रम्पलाई भने, म विश्वस्त छु कि सम्मेलनबाट विशिष्ट परिणाम प्राप्त हुनेछ, जसलाई सबैले स्वागत गर्नेछन् ।
म वार्ता सफल पार्न आफ्नो तर्फबाट सक्दो प्रयास गर्नेछु, किमले थपे । अमेरिकी राष्ट्रपति ट्रम्प र नेता किम हनोइस्थित सोफिटेल मेट्रोपोल होटेलमा एकआपसमा करिब २० मिनेट कुराकानी भएको थियो । त्यसपछि उहाँहरू आफ्ना निकट सहयोगीका साथ सोही होटेलमा हल्का भोजमा सहभागी भएका थिए ।
अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेताबीच गत बर्षको जुनमा पहिलो पटक भेट भएको थियो । उक्त भेटमा नेता किमले कोरियाली प्रायद्वीपलाई आणविक हतियारबाट स्वतन्त्र बनाउने बिषयमा हस्ताक्षर गरेका थिए। तर वार्तापछि लामो समयसम्म उत्तर कोरिया र अमेरिकाबीच औपचारिक छलफल हुन सकेको थिएन ।
हामी पुनः वार्ताका लागि हनोइ आएका छौँ, किमले थपे। मलाई लाग्छ थप विचारकासाथ अघि बढ्ने समय आएको छ । हामीले यस घडीमा धैर्य बन्दै उत्कृष्ट सोचविचारसहित अघि बढ्ने प्रयास गर्नुपर्छ ।
दुई नेताबीच कुराकानी हुनु पहिले उनीहरूले हार्दिकतासाथ हात मिलाएका थिए । उनीहरू बिहीबार पुनः भेट्ने र बिस्तृत छलफल हुनेछ ।
प्रकाशित मिति: बिहीबार, फागुन १६, २०७५