भारतसँग बढ्दो तनावका बीच पाकिस्तानी प्रधानमन्त्री इमरान खानले देशबासीलाई सम्बोधन गरेका छन् । उनले आफ्नो सेनाले भारतलाई जवाफ दिएको बताएका छन् ।
पाकिस्तानले दुई भारतीय विमान खसालेको र एक पाइलट पक्राउ परेको बताएको थियो । भारतले पनि उसको एउटा विमान पाकिस्तानले खसालेको र एक पाइलट बेपत्ता भएको बताएको छ ।
देशबासीलाई स्म्बोधन गर्दै पाकिस्तानी प्रधानमन्त्री इमरानले भनेका छन्, ‘हिजोदेखि जे अवस्था बनेको छ, त्यसबारे मलाई केही भन्नु छ । पुलवामापछि मैले हिन्दुस्तानलाई छानबिनमा सहयोगको अफर गरेको थिएँ । मलाई थाहा छ, यस्तो आक्रमणमा पीडित परिवारलाई कस्तो हुन्छ । यसैले मैले सिधासिधा अफर गरेको थिएँ । हामीले यस कारण भनेका थियौँ कि हाम्रो जमिनको प्रयोग आतंकका लागि नहोस् ।’
तर भारतले पाकिस्तानको सम्प्रभुता हनन् गरेपछि जवाफ दिनु बाध्यता भएको उनले बताएका छन् । ‘हामी चुप बसेर आफैँलाई अपराधी बनाउन सक्दैनथ्यौँ । हामीले बुधबार जवाफ दिएका छौँ र भनेका छौँ कि तिमी हाम्रो देशमा आउन सक्छौ भने म पनि आउन सक्छु ।’
भारतमा चुनाव हुन लागेकाले कुनै न कुनै कारबाही हुन्छ भन्ने पूर्वानुमान रहेको उनले बताए । तर पाकिस्तानमा कुनै क्षति नभएकाले जवाफी कारबाही नगरेको भन्दै प्रधानमन्त्री खानले सम्बोधनका क्रममा भनेका छन्, हामीले पर्खियौँ र आज जवाफ दियौँ ।’
पाकिस्तानी कारबाहीको जवाफ दिन दुई भारतीय मिग पाकिस्तानी सीमामा आएपछि खसालिएको प्रधानमन्त्री खानले बताए । उनले भने, पाइलट हामीसँग छ । म हिन्दुस्तानलाई भन्न चाहन्छु- हामीले अक्कलको प्रयोग गर्न जरुरी छ ।’
विश्वमा युद्ध हुने तर त्यसले कहाँ लैजान्छ भन्ने नसोचेको भन्दै उनले भनेका छन्, ‘पहिलो विश्वयुद्ध छ महिनामा सकिनुपर्ने थियो तर ६ वर्षसम्म चल्यो ।’
‘दोस्रो विश्वयुद्धमा हिटलरले सोचेका थिए कि म रुसलाई समाप्त पार्छु तर उनले सोचेनन् कि रुसको गर्मी उनको विनाशको कारण बन्छ । वार अन टेररमा १७ वर्ष लाग्यो । के अमेरिकाले सोचेका थिए कि यति समय लाग्छ ? भियतनाम युद्धमा यति समय लाग्छ भन्ने कसलाई थाहा थियो । युद्धबारे आँकलन गर्नु गलत हुन्छ ।’
पाकिस्तानी प्रधानमन्त्री खानले भनेका छन्, के हामीले अहिले सोच्नुपर्दैन कि लडाइँ बढ्यो भने कहाँ पुग्छौँ ? न मेरो, न मोदीको नियन्त्रणमा हुन्छ । यसैले जब हामी तयारी अवस्थामा बस्यौँ र भन्यौँ कि पुलवामाको घटनाले तपाईंहरूलाई दुःख भयो । आतंकवादबारे कुनै प्रकारको सम्वाद हुनुपर्छ ।’
प्रकाशित मिति: बुधबार, फागुन १५, २०७५