ब्रसेल्स ः भारतले पाकिस्तान अधिनस्थ काश्मिरी इलाकामा मङ्गलबार हवाई आक्रमण गरेपछि युरोपेली संघ (इयु) ले दुवै एसियाली मुलुकलाई ‘अत्यधिक संयमता अपनाउन’ आग्रह गरेको छ ।
भारतीय युद्धक विमानले पाकिस्तानी क्षेत्रमा रहेको आश्रयस्थल बनाउँदै आएको बताइने मौलाना अजहरको नेतृत्वमा रहेको लडाकु समूह जैस ए–मोहम्मदको शिविरमा आक्रमण गरेपछि आणविक हतियार सम्पन्न नयाँ दिल्ली र इस्लामाबादबीच तनाव चर्किने सम्भावनालाई मध्यनजर गर्दै इयुको उक्त भनाइ आएको हो ।
केही दिन पहिले काश्मिरमा सङ्घर्षरत जैस ए–मोहम्मद समूहले भारतीय सैनिकमाथि आत्मघाती आक्रमण गरी यसको जिम्मेवारी लिएको थियो । बदलामा भारतले मङ्गलबार बिहानै पाकिस्तानी क्षेत्रमा आक्रमण गरेको भारतीय अधिकारीलाई उद्धृत गरी भारतीय सञ्चारमाध्यमले बताएका छन् ।
मौलाना पाकिस्तानमै रहेकाले भारतले उनलाई भारतसमक्ष सुपुर्दगी गर्न आग्रह गर्नुका साथै पाकिस्तानविरुद्ध अन्तर्राष्ट्रिय कूटनीतिक दबाब सिर्जना गरिरहेको छ ।
इयु प्रवक्ता माजा कोसिजान्सिकले सञ्चारकर्मीसँगको कुराकानीमा भने, ‘हामी दुवै मुलुकसँग सम्पर्कमा रहेका छौं । हामीले के विश्वास गरेका छौं भने दुवै मुलुकले अत्यधिक संयमता अपनाउन र स्थितिलाई थप तनावतिर जान नदिन जररुरी छ ।’
प्रकाशित मिति: बुधबार, फागुन १५, २०७५