अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको दोस्रो शिखर सम्मेलनका लागि उत्तर कोरियाली नेता किम जोङ उन मङ्गलबार भियतनामको राजधानी हनोई आइपुगेका छन् । नेता किमका लागि हनोईमा उच्च सुरक्षा प्रबन्ध गरिएको छ ।
विश्व समुदायले यस पटकको वार्तामा उत्तर कोरियाली आणविक कार्यक्रमका बारेमा उल्लेखनीय प्रगति हुने अपेक्षा गरेको छ । राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किमबीचको शिखर वार्ता यही फेब्रुअरी २७ र २८ मा हुँदै छ ।
यसअघि दुई नेताबीच गत वर्ष जुनमा पहिलो ऐतिहासिक शिखर वार्ता भएको थियो । उक्त वार्तामा उत्तर कोरियाको आणविक निःशस्त्रीकरणका विषयमा अस्पष्ट तर महत्त्वपूर्ण सहमति भएको थियो । उत्तर कोरियाको आणविक हतियार नष्ट गर्नेतर्फ यस पटकको वार्तामा ठोस सम्झौता हुने विश्लेषकहरूले अनुमान गरेका छन् ।
शिखर बैठकमा भाग लिन उत्तर कोरियाबाट करिब ४ हजार किलोमिटर रेल यात्रा गरी नेता किम भियतनाम–चीनको सीमावर्ती शहर दोङदाङ आइपुगेका थिए । उनलाई दोङदाङबाट उच्च सुरक्षाबीच मोटरमा राखेर करिब १७० किलोमिटर सडक मार्गबाट भियतनामको राजधानी हनोई ल्याइएको थियो ।
रेल र सडक मार्ग तय गर्न करिब अढाई दिन लागेको थियो ।
हनोईमा आइपुग्दा नेता किमलाई स्थानीयबासीले भव्य स्वागत गरेका थिए । दोङदाङमा एक स्थानीय अधिकारी होआङ थी थुएले किमको अनुहार हेर्नका लागि उज्यालो नहुँदै हनोईको सडकमा सिमसिम वर्षाको समेत पर्वाह नगरी पर्खेर बसेको बताए । सन् १९६४ यता उत्तर कोरियाली नेताले भियतनामको भ्रमण गरेको यो पहिलो पटक हो । भियतनाम र उत्तर कोरिया दुवैमा एक दलीय कम्युनिष्ट शासन छ ।
किम सवार रेल आउँदा हामीलाई पनि नजिक जान दिइएको थिएन, टाढैबाट हेर्न भनिएको थियो , उनले एएफपीलाई भने, हामीले नेता किमलाई टाढैबाट हेर्न पायौँ । मलाई अति खुसी लाग्यो, यो क्षणको वर्णन गर्न पनि कठिन छ ।
माओ शैलीको कालो सुट र आफ्ना अङ्गरक्षकहरूको टोलीले घेरिएका किम त्यहाँ प्रतिक्षारत मर्सिडिज बेन्ज कारमा चढेका थिए । त्यसपछि मोटरको ताँती हनोईतर्फ लागेको थियो । त्यहाँ सडकका दुवै किनारामा उभिएको ठूलो जनसमूहले किमलाई स्वागत गर्नुका साथै सडकमा सशस्त्र सैनिकले कडा सुरक्षा दिएको थियो ।
अमेरिकी राष्ट्रपति ट्रम्पले भने विगतझैँ परम्परागत एयर फोर्स वान विमानबाट यात्रा गर्नेछन् । उनी मङ्गलबार साँझसम्म हनोई आइपुग्ने कार्यक्रम छ । हनोईतर्फ प्रस्थान गर्नुअघि राष्ट्रपति ट्रम्पले ट्विट गर्दै दोस्रो शिखर वार्ता निकै फलदायी हुने अपेक्षा गरिएको बताएका छन् ।
राष्ट्रपति ट्रम्पले उत्तर कोरियाले आणविक कार्यक्रम त्यागे कोरियाले तीव्र आर्थिक प्रगति गर्ने बताएका छन् । पूर्ण आणविक निःशस्त्रीकरण भएसँगै उत्तर कोरिया आर्थिक केन्द्र हुनेछ । यसमा प्रगति नभए उही पुरानै अवस्थामा पुग्नेछ , ट्रम्पले भनेका छन्, राष्ट्रपति किमले बुद्धिमत्तापूर्ण निर्णय गर्नुहुनेछ ।
शिखर वार्ताका बारेमा विस्तृत विवरण सार्वजनिक गरिएको छैन तर राष्ट्रपतिसँगै हनोई यात्रामा रहनुभएकी ह्वाइट हाउसकी प्रवक्ता सराह स्यान्डर्सले दुवै नेताले सँगै खाना खाने कार्यक्रम रहेको बताइन् ।
सिंगापुर वार्तापछि आणविक निःशस्त्रीकरणका बारेमा कूटनीतिक प्रगति लगभग अवरुद्ध नै भएको छ । संयुक्त राज्य अमेरिकाले पटक पटक उत्तर कोरियासमक्ष आफ्ना आणविक कार्यक्रम भरपर्दो र अन्तर्राष्ट्रिय विशेषज्ञको उपस्थितिमा बन्द गर्न आग्रह गरिरहेको छ ।
तर प्योङयाङले आणविक निःशस्त्रीकरण कार्यक्रमलाई व्यापक रूपमा बुझ्न आग्रह गर्दै आएको छ । उत्तर कोरियाले आफूमाथि लागेका प्रतिबन्धहरू फुकुवा गर्न र उत्तर कोरियामाथि हुनसक्ने सुरक्षा खतरा नहुने विश्वासिलो आधार प्रस्तुत गर्न आग्रह गरिरहेको छ ।