अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग व्यापार सम्झौताका लागि निकै नजिकमा वार्ता पुगेको बताएका छन् ।
अर्को महिना अमेरिका र चीनबीच शिखर सम्मेलन हुने अपेक्षा मैले गरेको छु , ट्रम्पले भने । यसले अर्को महिना अमेरिका र चीनबीच शिखर सम्मेलन हुने सम्भावना बढेको छ ।
चिनियाँ वार्ता टोलीसँग वासिङ्टनमा भएको पछिल्लो दुई दिन लामो वार्ता ‘निकै सकारात्मक’ भएको बताउँदै यसलाई आइतबारसम्म लम्ब्याइएको थियो । सम्झौतामा हस्ताक्षर गर्नेगरी शिखर सम्मेलन गरिने र यो पक्कै अझ राम्रो अवसर हुने बताइएको छ । हामी आशावादी छौँ वार्ता छिट्टै सम्पन्न हुनेछ । हामी सहमतिको नजिक पुगेका छौँ , टोलीले भनेको छ ।
अमेरिका–चीनबीच देखिँदै आएको व्यापार विवादलाई अन्त्य गर्ने प्रयास स्वरूप दुई देशका अधिकारीहरूले विश्वका दुई अर्थतन्त्रबीच व्यापार विषयमा देखिएको गहिरो तनावलाई समाधान गर्ने प्रयासमा भएका वार्ता सकारात्मक बन्दै गएको बताइएको हो ।
अमेरिकी राष्ट्रपति ट्रम्प र चिनियाँ राष्ट्रपति सीबीच अर्जेन्टिनाको राजधानी ब्युनर्स आयर्समा व्यापार विवादलाई मार्च १ पहिलेसम्म समाधान गर्न आफ्नो तहबाट पहल गर्ने सहमति बनेको थियो । यसै आधारमा भएका वार्ता सकारात्मक बनेपछि ट्रम्पद्वारा मार्चमा थप कर वृद्धि गर्न सकिने भनिएको समयलाई थप ३ महिना पछि सारिएको छ ।
सहमतिअनुसार आगामी साता अर्थात् मार्च १ मा अमेरिकाले २ खर्ब डलर मूल्य बराबरको चिनियाँ सामानमा कर वृद्धि गर्ने बताइएको भए पनि राष्ट्रपति ट्रम्पले उक्त निर्णयलाई पछि सार्ने घोषणा गरिसकेका छन् ।