पेरुको एन्डिज क्षेत्रमा सञ्चालित सुनखानीमा ठूलो वर्षासँगै पहिरो जाँदा त्यहाँ कार्यरत धेरै व्यक्ति मारिएको स्थानीय अखबारहरूले जनाएका छन् ।
पेरुको गृह प्रशासन (इन्डेसी)ले ट्विट गर्दै पुनोको दक्षिणी भेगमा सञ्चालित एक अवैध खानीमा दुर्घटना भएको भन्ने खबर पाइएको र त्यहाँ उद्धार टोली परिचालन गरिएको जनाएको छ ।
ला रिपब्लिका अखबारले खानीमा कार्यरत ७ जनालाई बगाएको जनाएको छ । अरू केही व्यक्ति हिलोमा पुरिएका र उनीहरूको खोजी भइरहेको पनि अखबारले जनाएको छ । उक्त सुनखानी निकै दुर्गम इलाकामा रहेकाले खोजी र उद्धारमा कठिनाइ भइरहेको बताइएको छ ।
पेरुमा दर्ता नगरिएका सुनखानी धेरै रहेको विश्वास गरिन्छ । यहाँ मजदुरहरूको अवस्थासमेत अत्यन्त नाजुक रहने गरेको छ ।
यसै महिनाको सुरुमा पनि अवैध खानीमा कार्यरत ४ जना मजदुरको मृत्यु भएको थियो । गत साता पनि ठूलो वर्षापछि आएको पहिरोमा पुरिएर २ जना मजदुरको ज्यान गएको थियो ।
पेरुका हरेक सरकारले गैरकानुनी यस्ता खानीको व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गरे पनि ठोस कार्य भने हुन सकेको छैन ।
यसै साता राष्ट्रपति मार्टिन भिजकार्राले अमेजोन क्षेत्रमा सञ्चालित अवैध खानीलाई नियमन गर्ने अभियान सुरु गरेका छन् ।
पेरु विश्वकै छैटौँ ठूलो सुन उत्पादक राष्ट्र हो ।
प्रकाशित मिति: शुक्रबार, फागुन १०, २०७५