सरकारी सुरक्षा फौजको कारबाहीमा उत्तरपश्चिम नाइजेरियामा कम्तीमा ५९ जना लुटेराहरू मारिएका छन् । लुटेराहरूले स्थानीय गाउँहरूमा लुटपाट गर्न थालेपछि सुरक्षाफौजले कारबाही गरेको स्थानीय सुरक्षा अधिकारीहरूले जनाएका छन् ।
५९ जना लुटेराहरू मारिएका छन् र भिडन्तका क्रममा हाम्रा ७ जना गाउँलेको पनि ज्यान गयो । यो भिडन्त झण्डै ४ घण्टा चलेको थियो , डानिजिग्बा गाउँका निबासी बुबे सेगुले बताए ।
स्थानीय सञ्चार माध्यमहरूले मृत्यु हुनेको संख्या अझ बढ्न सक्ने बताएका छन् । डानमार्क भन्ने अर्को गाउँमा पनि १५ जना लुटेरा मारिएको स्थानीय सरकारी अधिकारीले बताएका छन् ।
उत्तरपश्चिम नाइजेरियाको बिग्रँदो शान्ति सुरक्षाको अवस्थाले राष्ट्रपति मोहम्मदु बुहारीमाथि चुनौती बढेको छ । आगामी शनिबार नाइजेरियामा राष्ट्रपतिको चुनाव हुँदै छ । चुनावअघि भएका यी घटनाले राष्ट्रपति बुहारीको पुनः निर्वाचनलाई कठिन बनाएको छ ।
राष्ट्रपति बुहारीको राम्रो पकड रहेको तथा खेतीपाती र पशुपालन मुख्य पेसा व्यवसाय भएका यस क्षेत्रका जनताले सुरक्षा फौजले आफ्नो सुरक्षामा पर्याप्त ध्यान नदिएको गुनासो गरिरहेका छन् ।
सुरक्षा फौजले ध्यान नदिएका कारण लुटेराको हातबाट मर्नुभन्दा लड्नु नै उचित ठान्न थालेका छौँ , नाम नबताउने एक स्थानीयबासीले बताए ।
डानिजिग्बा प्रदेश राजधानी गुसाउबाट करिब ३५ किलोमिटर दक्षिणमा रहेको छ । व्यापारिक केन्द्रका रूपमा रहेको डानिजिग्बामा पटक पटक आक्रमण हुने गरेको छ ।
आक्रमणका कारण धेरै मानिस अन्यत्र पलायन हुन बाध्य छन् । उनीहरू चाफे र काटसिना शहरतर्फ भाग्न विवश भएका छन् । यसै महिनाको सुरुमा पनि माडा जिल्लामा लुटेराहरूले २६ जना गाउँलेको हत्या गरेका थिए ।
गत जुलाईमा जामफारा राज्यमा पनि लुटेराहरूको आक्रमणबाट सन् २०१८ को छ महिनाको अवधिमा कम्तीमा ३७१ जनाको हत्या भएको एम्नेस्टी इन्टरनेसनलले जनाएको छ ।
गत डिसेम्बरमा एक जना स्थानीय नेताले आत्मरक्षाका लागि स्थानीयबासीलाई सरकारले नै बन्दुक राख्न अनुमतिका लागि आग्रह गरेका थिए ।
प्रकाशित मिति: शुक्रबार, फागुन १०, २०७५