सुदूरपश्चिमको अछाम जिल्लामा जन्मिएर हाल गायन क्षेत्रमा क्रियाशील रही राजधानीलाई कर्मथलो बनाएका यूवा गायक हुन् - टंक तिमिल्सिना । दुर्गम वस्तीको अभाव र विषमताबाट माथि उठेका टंक अहिलेको यूवा पुस्ताले बढी रुचाइएका गायकको रुपमा चिनिन्छन् । करिब १५० भन्दा बढी गीतहरु गाइसकेका उनको यतिबेला तीज विशेष गीत पनि बजारमा आइसकेको छ । प्रस्तुत छ– गायक तिमिल्सिनासँग उनको गायन यात्रा र यस क्षेत्रमा उनले पार गरेका उकालीओराली एवम् भविष्यको यात्राबारे आजको न्यूज डट कम का लागि नरेश न्यौपानेले गरेको संक्षिप्त संवाद :
गायन क्षेत्रमा टंक तिमिल्सिनाको प्रवेश कसरी भयो ?
–आजभन्दा ८ बर्षअघि एसएलसी उत्तिर्ण गरेर जसरी म अछामबाट नजिकैको शहर नेपालगञ्ज आएँ, सायद मेरो त्यो शैक्षिक यात्राकै क्रममा मैले आफैले थाहै नपाइकन गायन क्षेत्रमा प्रवेश गरिसकेको रहेछु । किनकी अध्ययनका लागि शहर छिरेको म सुरुवातबाट नैं गायनतर्फ बढी व्यस्त हुन थालेँ । नेपालगञ्जको आदर्श कलेजमा अध्ययनकै क्रममा रेडियो भेरी आवाजमा एउटा सांगितिक कार्यक्रम ‘रमाइलो दोहोरी साँझ’ सञ्चालनको अवसरले मलाई यही क्षेत्रमा जोडिने प्रेरणा दियो । त्यस्तै, कलेजमा आयोजना हुने विभिन्न कार्यक्रमहरुले मेरो गायनमाथि थप ढाडस र हौसला थप्ने काम गरे । सायद तिनै सांगितिक वातावरणले मलाई यस क्षेत्रमा प्रवेश गरायो ।
उतिबेला देखेको सांगितिक सपनामाथि आज समीक्षा गर्नुपर्यो भने ?
–वास्तवमा म मेरो जीवनमा सबैभन्दा धेरै त्यसदिन खुसी भएँ, जुन दिन मेरो पहिलो गीत ‘जुनीजुनी तिमीलाई माया गर्छु’ बजारमा आयो । सायद त्यही दिन थियो, जुन दिन पहिलो पटक मेरो आँखाबाट खुसीका आँशु अचानक खसेका थिए । त्यो गीतमा केवल मेरो मेहेनत र सपना मात्र थिएन कि मेरा साथीभाइ, परिवार र आम श्रोता एवम् दर्शकहरुको अमूल्य सहयोग र अटूट प्रेम थियो । त्यही गीत हो जसले मलाई आजको समाजले गणना गर्ने स्थानसम्म ल्याएको जस्तो लाग्छ ।
गीतिक्षेत्रबाट समाजमा कस्तो योगदान गर्न सकिए जस्तो लाग्छ ?
–कुनै समय दोहोरी साँझले राजधानीमा टिकाएको मलाई आज आफ्नो व्यवस्थापनका साथै समाजका लागि केही गर्न खोजिरहेको जस्तो देखिने यही सांगितिक क्षेत्रले बनाएको छ । मैले देउडा, लोकदोहोरी र आधुनिक गीतका साथै लोकपप, पप, र्याप र थारु भाषामा जुन गीतहरु गाएँ, तिनीहरुमा हरेक शब्द र संगीतमा नेपालको कहीँ न कहीँको समाजको चित्र र चरित्र बोलिरहेकै हुन्छ । उदाहरणका लागि मेरो ‘अछामबाट म सुर्खेत आको छु, तिमलाई भेट्न भनेर धाको छु’ भन्ने गीतले अछामलाई राजधानी र देशविदेशसँग जोडेको र चिनाएको छ । मेरा हरेक गीतहरुले समाजका दुःख, पीडा र वेदनाहरु ओकलीरहेका हुन्छन् । यसकारण यस क्षेत्रमा जति राम्रो गर्न सकिन्छ, त्यो समाजकै लागि हुनेछ ।
तपाईको आफ्नो सांगितिक जीवनमा कतै नमिठा भोगाइहरु पनि छन् ?
–नमिठा भोगाइ नैं त नभनौं, तर यही क्षेत्रमा लाग्न सुरुवातमा मेरो परिवारले सहयोग गर्ने स्थिति बनेन । अछामजस्तो दुर्गम पहाडको मान्छे, परिवारसँगको सल्लाहबिना यस क्षेत्रमा लागेँ । सांगितिक अभियानकै दौडानमा कयौं तितामिठा अनुभव र अभावहरुसँग जुध्दै यहाँसम्म आइपुगेको छु । आज परिवार, समाज र दर्शकहरुले मप्रति दर्शाइरहेको मायाले व्यापक उत्साह थपिरहेको छ । यसैमा खुसी छु ।
अन्त्यमा, तुरुन्तै कुनै नयाँ गीतको तयारी छ ?
–भर्खरै तीजविशेष ‘यसपालि त मैयाको बन्ने भैयो पोइ’ बोलको गीत ल्याएको छु । यो गीत अलि रोमान्टिक शैलीको र सन्देशमूलक पनि छ । पक्कै पनि यस गीतलाई मेरा श्रोता तथा दर्शकहरुले माया गर्नुहुनेछ भन्ने आशा लिएको छु । यसपछि थप गीतहरु समाजअनुकूल र विशेषगरि देशव्यापी क्षेत्र ओगट्ने गरी गाउने प्रयास रहनेछ ।
प्रकाशित मिति: सोमबार, साउन २८, २०७५