काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द्र ‘विप्लव’, जनार्दन शर्मा र घनश्याम भुसालले देशमा उत्पन्न राजनीतिक संकट अन्त्यका लागि प्रगतिशील, समाजवादी र देशभक्त शक्तिहरूबीच सहकार्य र एकताको आह्वान गरेका छन्।
तीन नेताहरूले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै पुराना राजनीतिक दल र तिनका नेताहरूले पुरानै संरचना र शैलीको संरक्षणमार्फत आफ्नो वर्चस्व जोगाउने प्रयास गरिरहेको आरोप लगाएका छन्। उनीहरूका अनुसार त्यस्तो प्रवृत्तिले देशलाई अझ अन्योल, अस्थिरता र संकटतर्फ धकेल्ने खतरा बढेको छ।
विज्ञप्तिमा भनिएको छ, “पुरानै बाटो हिँडेर नयाँ गन्तव्यमा पुगिन्न भन्ने कुरा स्पष्ट भइसकेको छ। अहिलेको राष्ट्रिय निराशा र गतिरोध तोड्दै जनतालाई प्रगतिशील र लोकतान्त्रिक दिशामा गोलबन्द गर्नु आजको प्रमुख कार्यभार बनेको छ।”
तीन नेताहरूले मुलुकमा देखिएको चौतर्फी संकटको सामना गर्नका लागि सबै प्रतिबद्ध कम्युनिष्ट, समाजवादी, प्रगतिशील र देशभक्त शक्तिहरूबीच बृहत् एकता र मोर्चाबन्दी अपरिहार्य रहेको उल्लेख गरेका छन्।
विज्ञप्तिमा भनिएको छ, “हामी त्यस्तो ऐतिहासिक पहलका लागि सहकार्य गर्दै एकताबद्ध भएर अघि बढ्ने दृढ संकल्प गर्छौं। साथै, सबै प्रतिबद्ध कम्युनिष्ट, समाजवादी, प्रगतिशील तथा देशभक्त शक्तिहरूसँग सार्थक संवाद, छलफल र सहकार्यका लागि आह्वान गर्दछौं।”
तीन नेताहरूको यो संयुक्त आह्वानलाई पछिल्ला राजनीतिक समीकरण र असन्तुष्ट धाराहरूबीच नयाँ बामपन्थी सहकार्यको संकेतका रूपमा हेरिएको छ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २२, २०८२