विराटनगर। कुनै समय नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका अत्यन्त नजिक मानिने नेता बालकृष्ण खाँण बुधबार बिहान विराटनगरस्थित कोइराला निवासमा पुगेका छन्।
नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका खाँणको यो उपस्थितिलाई कांग्रेसको आन्तरिक राजनीतिमा महत्वपूर्ण संकेतका रूपमा हेरिएको छ। कोइराला निवासमै आयोजित पत्रकार सम्मेलनमा उनले स्पष्ट रूपमा गुट फेरेको नखुलाए पनि उनको उपस्थितिले शेखर कोइराला समूहका नेताहरू हर्षित देखिए।
कांग्रेस संस्थापक कृष्णप्रसाद कोइरालादेखि बीपी कोइराला र गिरीजाप्रसाद कोइरालासम्म बसोबास गरेको ऐतिहासिक कोइराला निवास हाल डा. शेखर कोइरालाको नाममा छ, र उनी कांग्रेसभित्र इतर समूहको नेतृत्व गरिरहेका छन्।

खाँणको कोइराला निवासमा उपस्थितिले उनी अब डा. शेखर कोइरालाको क्याम्पमा लाग्न थालेको स्पष्ट सङ्केत दिएको छ। पत्रकारहरूसँग कुराकानी गर्दै खाँणले कोइराला निवास कुनै गुटको केन्द्र नभई ‘साझा पवित्र भूमि’ भएको दाबी गरे।
"यहाँ बीपी, गिरीजा, र कृष्णप्रसाद कोइरालाले बिताएका पलहरूको स्मरण हुन्छ। यहाँको माटोसँग भावनात्मक सम्बन्ध छ," खाँणले भने, "यो निवास गुटको होइन, हाम्रो लागि एक प्रकारको धार्मिक स्थलजस्तै पवित्र स्थल हो।"
महाधिवेशनको समयबारे जिज्ञासामा खाँणले कांग्रेसको विधान अनुसार विशेष परिस्थितिमा एक वर्ष समय थप गरेर पाँच वर्षभित्र महाधिवेशन गर्न सकिने स्पष्ट पारे।
अनुशासन सम्बन्धी प्रश्नमा उनले पार्टीभित्र अनुशासनको विषय उठ्नु स्वाभाविक भएको बताउँदै भने, "कुनै पनि पार्टीले पक्षपातपूर्ण व्यवहार गर्नु हुँदैन। कांग्रेस कमजोर हुँदा देशको प्रजातान्त्रिक संरचना नै कमजोर हुन्छ।"
सभापति देउवासँगको टाढोपनबारे उनले स्पष्ट रूपमा केही भनेनन्, तर 'सभापतिलाई सहयोग गर्दै पार्टीलाई बलियो बनाउनु पर्छ' भन्ने अभिव्यक्तिले भने उनको सन्तुलित अभिवृत्तिलाई झल्काएको देखिन्छ।
प्रकाशित मिति: बुधबार, साउन १, २०८२