काठमाडौं । २०औँ एसियाली खेलकुदअन्तर्गत महिला भलिबलमा नेपालले बुधबार घरेलु टोली जापानसँग प्रतिस्पर्धा गर्दै छ । समूह ‘ए’ अन्तर्गतको खेल जापानको कोमाकीस्थित पार्क एरिना कोमाकीमा नेपाली समयअनुसार दिउँसो ४ः०५ बजे सुरु हुनेछ ।
नेपाल र जापानसँगै इन्डोनेसिया समूह ‘ए’ मा छन् । एसियाली खेलकुदको महिला भलिबलमा कुल १४ टोली सहभागी छन् । प्रतियोगिता सेप्टेम्बर १६ देखि २२ सम्म सञ्चालन हुँदैछ ।
नेपाल लगातार दोस्रोपटक एसियाली खेलकुदको महिला भलिबलमा सहभागी हुन लागेको हो । यसअघि सन् २०२३ मा चीनमा भएको एसियाली खेलकुदमा नेपालले पहिलोपटक सहभागिता जनाएको थियो ।
यसपटक नेपाली टोलीको नेतृत्व जगदीश भट्टले गर्दैछन् । गत संस्करणमा उनी सहायक प्रशिक्षकको भूमिकामा थिए । २०२३ मा नेपालले भियतनाम र दक्षिण कोरियासँग प्रतिस्पर्धा गरेको थियो ।
एसियाली खेलकुदको औपचारिक उद्घाटन सेप्टेम्बर १९ मा हुने भए पनि विभिन्न खेलका प्रतिस्पर्धा बुधबारदेखि नै सुरु भएका छन् । महिला भलिबल पनि उद्घाटनअघि नै सुरु हुने खेलमध्येमा परेको छ ।
नेपाली टोली : निरुता ठगुन्ना (कप्तान), सलिना श्रेष्ठ, उषा भण्डारी, सुमित्रा रेग्मी, मीना सुनार, सुनिता खत्री, वसन्ती साउद, आरती सुवेदी, प्रगती नाथ, सलिना बुढामगर, रीमा कुँवर र लक्ष्मी चन्द ।
प्रकाशित मिति: बुधबार, भदौ ३१, २०८३