काठमाडौं । ओमानको सोहार तट नजिकै आइतबार भारतीय चालक दल सवार तेल ट्यांकरमा ड्रोन आक्रमण हुँदा दुई जना नाविक बेपत्ता भएका छन् । आक्रमणमा परेको ‘एमटी पेट्रो डल्फिन’ नामक ट्यांकरमा सवार ११ जनामध्ये नौ जनाको सकुशल उद्धार गरिएको छ ।
आक्रमणपछि स्थानीय सुरक्षा निकाय र ओमानी तटरक्षक बलले उद्धार कार्य सञ्चालन गरेका थिए । बेपत्ता दुई नाविकको खोजी कार्य जारी रहेको छ ।
भारतका केन्द्रीय बन्दरगाह, जहाज तथा जलमार्गमन्त्री सर्वानन्द सोनोवालले सामाजिक सञ्जालमार्फत घटनाको पुष्टि गर्दै बेपत्ता नाविकको अवस्थाप्रति गहिरो चिन्ता व्यक्त गरेका छन् ।
मन्त्री सोनोवालका अनुसार अक्टोबर ११ मा सोहार एन्करेजमा भारतीय ट्यांकरमाथि ड्रोन आक्रमण भएको थियो । जहाजमा सवार ११ जना भारतीय नाविकमध्ये नौ जनाको उद्धार भइसकेको र दुई जना अझै बेपत्ता रहेको उनले बताएका छन् ।
बेपत्ता नाविकको खोजी तथा उद्धारका लागि भारत सरकारले ओमानी अधिकारी र सम्बन्धित कूटनीतिक निकायसँग समन्वय गरिरहेको पनि मन्त्री सोनोवालले बताएका छन् ।
आक्रमण कसले र कुन उद्देश्यले गरेको हो भन्नेबारे अहिलेसम्म खुल्न सकेको छैन । घटनाबारे सम्बन्धित सुरक्षा निकायले अनुसन्धान गरिरहेका छन् ।
प्रकाशित मिति: सोमबार, असोज २६, २०८३