काठमाडौं । शिक्षक अभाव, खचाखच कक्षाकोठा, जीर्ण विद्यालय भवन, लामो पठनपाठन समय तथा शिक्षामा बढ्दो असमानताको विरोधमा फ्रान्समा माध्यमिक तहका विद्यार्थीको आन्दोलन चर्किएको छ ।
सेप्टेम्बर १७ मा पेरिसनजिकबाट सुरु भएको आन्दोलन पछिल्लो समय देशभर फैलिएको छ । विद्यार्थीहरूले विद्यालय बन्द, कक्षा बहिष्कार तथा धर्नामार्फत शिक्षामा थप लगानी र पर्याप्त शिक्षकको व्यवस्था गर्न माग गरिरहेका छन् ।
आन्दोलनको प्रमुख कारण सरकारले सन् २०२७ को शिक्षा बजेटमा १ हजार ५८८ स्थायी शिक्षक पद कटौती गर्ने योजना अघि सार्नु पनि हो । विद्यार्थी संख्या घट्दै गएकाले शिक्षक पद कटौती आवश्यक रहेको सरकारको तर्क छ । तर, शिक्षक तथा विद्यार्थी संगठनले शिक्षक अभावकै अवस्थामा पद कटौती गर्ने निर्णय उचित नभएको बताएका छन् ।
आन्दोलनका क्रममा केही स्थानमा फोहोरका डब्बामा आगजनी, प्रहरीमाथि ढुंगा तथा पटाका प्रहार र तोडफोडका घटना भएका छन् । सरकारका अनुसार अक्टोबर २ सम्म करिब ४०० विद्यालय पूर्ण रूपमा बन्द भएका थिए भने ५६० विद्यालय प्रभावित भएका थिए ।
सरकारका अनुसार २४ विद्यालय आगजनी वा तोडफोडबाट प्रभावित भएका छन् भने ७८ जना शिक्षा कर्मचारी घाइते भएका छन् ।
सोमबार ४०० देखि ५०० विद्यालय पूर्ण वा आंशिक रूपमा बन्द हुन सक्ने अनुमान गरिएको छ । मंगलबार विद्यार्थी तथा ट्रेड युनियनहरूले राष्ट्रव्यापी प्रदर्शन र हडतालको तयारी गरेकाले आन्दोलन थप चर्कने सम्भावना छ ।
विद्यार्थी आन्दोलनमा राजनीतिक हस्तक्षेपको आरोपसमेत लागे पनि आन्दोलनका मुख्य मुद्दा शिक्षक अभाव, विद्यालयको कमजोर भौतिक पूर्वाधार र शिक्षामा बढ्दो असमानता रहेका छन् ।
प्रकाशित मिति: सोमबार, असोज १९, २०८३