काठमाडौं । सर्वोच्च अदालतको फूलकोर्ट बैठकले प्रधानन्यायाधीश तथा अन्य न्यायाधीशसँग सम्बन्धित विषयमा सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति गम्भीर चासो व्यक्त गरेको छ। सोमबार बसेको सबै न्यायाधीश सम्मिलित बैठकले संविधान र कानुनको सर्वोच्चता तथा कानुनी शासनप्रति आफ्नो प्रतिबद्धता दोहोर्याउँदै सम्बन्धित विषयमा निष्पक्ष छानबिन गर्न आग्रह गरेको हो।
सर्वोच्च अदालतका प्रवक्ता डा. अशोककुमार क्षेत्रीद्वारा जारी विज्ञप्तिमा संविधान र कानुनको सर्वोच्चता न्यायपालिकाको अटल आस्था र प्रतिबद्धता भएको उल्लेख गरिएको छ। बैठकले सार्वजनिक रूपमा उठेका विषयमा कुनै पूर्वाग्रह नराखी स्वतन्त्र र निष्पक्ष ढंगले छानबिन गर्न तथा सत्यतथ्यसहितको निष्कर्ष यथाशीघ्र सार्वजनिक गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।
त्यस्तै, सञ्चारमाध्यममा प्रकाशित तथा प्रसारित समाचारका सम्बन्धमा हुने कानुनी प्रक्रिया र अनुसन्धानमा आवश्यक जवाफदेहिता निर्वाह गर्न तथा सहयोग गर्न न्यायपालिका प्रतिबद्ध रहेको विज्ञप्तिमा जनाइएको छ।
न्यायपालिका नागरिकको आस्था र विश्वासमा आधारित संस्था भएकाले यससँग सम्बन्धित समाचार सम्प्रेषण गर्दा आम नागरिक तथा सेवाग्राहीमा भ्रम सिर्जना हुने अवस्था आउन नदिन पनि फूलकोर्टले आग्रह गरेको छ। छानबिनको निष्कर्ष सार्वजनिक हुनुअघि नै कसैलाई दोषी ठहर्याउने वा लाञ्छित गर्ने तथा न्याय सम्पादनमा अवरोध पुग्ने खालका समाचार प्रकाशन र प्रसारण नगर्न सञ्चारमाध्यमलाई अनुरोध गरिएको छ।
यसैबीच, सार्वजनिक रूपमा आएका समाचारबाट विचलित नभई नियमित रूपमा न्यायिक कार्यमा सक्रिय रहन सर्वोच्च अदालतले देशभरका अदालतमा कार्यरत न्यायाधीश तथा सम्पूर्ण न्यायकर्मीलाई आग्रह गरेको छ।
फूलकोर्टले संविधानको सर्वोच्चता, कानुनको शासन र न्यायिक निष्पक्षताप्रतिको प्रतिबद्धता कायम राख्दै उठेका प्रश्नको कानुनी प्रक्रियाबाटै निरूपण हुनुपर्नेमा जोड दिएको छ।

प्रकाशित मिति: सोमबार, कात्तिक १७, २०८३