२ फागुन, रुकुम । रुकुमको चौरजहारी नगरपालिका जेष्ठ नागरिकहरुले चालु आर्थिक वर्ष २०७३/०७४ को पहिलो चौमासिकको सामाजिक सुरक्षा भत्ता पाउन सकेका छैनन् । सरकारले बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्ने अभ्यास थालेपछि दोस्रो किस्ता पाउने समयसम्म पनि जेष्ठ नागरिकले पहिलो किस्ताको भत्ता नै पाउन सकेका छैनन् । गत साउनदेखिको भत्ता अहिलेसम्म पनि पाउन नसकेपछि जेष्ठ नागरिक चिन्तित बनेका छन । अघिल्लो वर्षतिर समयमै भत्ता पाउने गरेको भए पनि यो वर्ष भने समयमै भत्ता नपाएको चौरजहारी–७ का ७२ वर्षीय नरबहादुर खत्रीले बताउनुभयो ।
पटकपटक बैंकमा जाँदा पनि सुरक्षा भत्ता पाउन नसकेको लक्षित वर्गको गुनासो छ । एक महिनासम्म बैंकमा खाता खोल्ने समय लागेको र त्यसपछि मन्त्रालयमा इन्ट्री गर्नुपर्ने भएकाले भत्ता वितरणमा ढिलाइ भएको चौरजहारी नगरपालिकाका कार्यकारी अधिकृत महेशकुमार गुरुङले बताउनुभयो । अहिले नगरपालिकाभित्र सामाजिक सुरक्षा भत्ता पाउने एक हजार ६९ जना व्यक्ति रहेको उहाँले जानकारी दिनुभयो । बैंकमा पैसा जम्मा भइसकेको र अब केही सामान्य कुरा मिलाएर छिट्टै प्रत्येकको खातामा पैसा जम्मा गरिने कार्यकारी अधिकृत गुरुङको बताउनुभयो ।
प्रकाशित मिति: आइतबार, फागुन १, २०७३