काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशलाई सही राजनीतिक दिशा दिने जिम्मेवारी कांग्रेसको भएको बताएका छन् ।
कांग्रेसको १५औँ महाधिवेशनको बन्दसत्रमा राजनीतिक प्रस्ताव प्रस्तुत गर्दै थापाले कांग्रेस केवल चुनावी दल नभई देशको राष्ट्रिय राजनीतिक शक्ति भएको बताए ।
समाजमा व्याप्त निराशा, अविश्वास, घृणा र असन्तोषलाई चिर्दै देशलाई सही राजनीतिक दिशा दिने जिम्मेवारी कांग्रेसको भएको उनको भनाइ छ । उनले कांग्रेसले संसद्मा प्रतिपक्षका रूपमा नागरिकका मुद्दालाई प्रखर रूपमा उठाउने र ती मुद्दालाई तार्किक निष्कर्षमा पुर्याएर सरकारलाई सम्बोधन गर्न बाध्य पार्ने बताए ।
थापाले आफ्नो राजनीतिक प्रतिवेदनलाई आगामी चार वर्षका लागि कांग्रेसको राजनीतिक मार्गदर्शनका रूपमा प्रस्तुत गरेका छन् ।
फागुन २१ गते भएको निर्वाचनमा पार्टीले अप्रत्याशित परिणाम भोगेको र संसद्मा उपस्थिति खुम्चिएको उल्लेख गर्दै थापाले यसलाई केवल चुनावी प्रचार वा आन्तरिक बेमेलका रूपमा मात्र हेरे थप दुर्घटना हुन सक्ने बताएका छन् ।
प्रतिवेदनमा कांग्रेसले आगामी निर्वाचनमा निर्वाचनपूर्व कुनै पनि गठबन्धन नगर्ने नीति अघि सारेको छ । आफ्नै चुनाव चिह्न, कार्यक्रम र उम्मेदवारसहित जनविश्वास जितेर प्रतिस्पर्धा गर्ने तथा मतको अंकगणितका लागि पार्टीको मौलिक पहिचान कमजोर नबनाउने उल्लेख गरिएको छ ।
प्रकाशित मिति: सोमबार, असोज १९, २०८३