काठमाडौं । गृहमन्त्री सुधन गुरुङ असोज २६ गते भारत जाने भएका छन् ।
बहु–क्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको पहल (बिम्स्टेक)को गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन उनी भारतको नयाँ दिल्ली जान लागेका हुन् ।
‘गृहमन्त्रीज्यू बिम्स्टेक बैठकमा सहभागी हुन भारत जाँदै हुनुहुन्छ,’ गृह मन्त्रालय स्रोतले भन्यो । गुरुङ गृहमन्त्री बनेपछि यो उनको पहिलो विदेश भ्रमण हुनेछ ।
बिम्स्टेकको गृहमन्त्रीस्तरीय बैठक असोज २७ गते नयाँ दिल्लीमा हुँदैछ । बैठकमा बिम्स्टेकका सदस्य राष्ट्र नेपाल, भारत, भुटान, बंगलादेश, श्रीलंका, म्यानमार र थाइल्यान्डका गृहमन्त्री सहभागी हुनेछन् ।
बैठकको मुख्य एजेन्डा आतंकवाद तथा अन्तरदेशीय अपराध नियन्त्रण रहेको छ । बिम्स्टेकको गृहमन्त्रीस्तरीय बैठक पहिलोपटक आयोजना हुन लागेको हो ।
गृहमन्त्री गुरुङ असोज २८ गते काठमाडौं फर्किने कार्यक्रम रहेको छ । भ्रमणका क्रममा भारतका गृहमन्त्रीसँग द्विपक्षीय भेटवार्ताको तयारीसमेत भइरहेको गृह मन्त्रालय स्रोतले जनाएको छ ।
‘फर्किनुअघि भारतका गृहमन्त्रीसँग द्विपक्षीय बैठक गर्ने सम्बन्धमा तयारी भइरहेको छ,’ स्रोतले भन्यो ।
प्रकाशित मिति: सोमबार, असोज १९, २०८३