गोरखा । बुढीगण्डकी नदीमा आएको बाढीले पुल तथा पदमार्ग बगाएपछि गोरखाको चुम उपत्यकामा ८० भन्दा बढी पर्यटक अलपत्र परेका छन् ।
आइतबार आएको बाढीले आवतजावत गर्ने मार्ग अवरुद्ध भएपछि पर्यटकहरू गन्तव्यतर्फ जान नसकेको होटल व्यवसायी उपसमितिका संयोजक गणेश कार्कीले जानकारी दिए ।
उनका अनुसार केही पर्यटकलाई सोमबार बिहानैदेखि नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार भइरहेको छ । मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) का अनुसार चुम उपत्यकामा अहिले ८० भन्दा बढी पर्यटक रहेका छन् ।
छेकम्पारका होटल व्यवसायी दोर्जे लामाका अनुसार बाटो अवरुद्ध भएपछि पर्यटकहरू त्रसित बनेका छन् । कतिपय पर्यटकको भिसा अवधि सकिन लागेको र कतिपयले नाकाबन्दी हुन सक्ने भन्दै चिन्ता व्यक्त गरिरहेको उनले बताए ।
यसैबीच, विपद्को अवस्थामा पर्यटक उद्धारका लागि हेलिकोप्टरले उडान अनुमति लिइरहनु नपर्ने निर्णय सरकारले गरेको सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले जानकारी दिए ।
उनका अनुसार आपत्कालीन अवस्था भए पर्यटकलाई सम्बन्धित कम्पनीले समेत उद्धार गर्न सक्नेछन् । अन्य अवस्थामा सरकारले आफ्नो कार्ययोजनाअनुसार उद्धार गर्नेछ । अहिले बाटोमा अलपत्र परेका पर्यटकको उद्धारलाई प्राथमिकता दिइएको उनले बताए ।
प्रकाशित मिति: सोमबार, असोज २६, २०८३