रौतहट । प्रहरीले रौतहटको गुजरा नगरपालिका–५ लक्ष्मीपुरस्थित एक इँटाभट्टामा अलपत्र परेका ४२ जना भारतीय नागरिकको उद्धार गरी स्वदेश फर्काएको छ ।
भारतीय ठेकेदारमार्फत मदिना इँटाभट्टामा काम गर्न आएका १२ पुरुष, ११ महिला, १० बालक र ९ बालिकालाई उद्धार गरी सोमबार भारतीय सीमा सुरक्षा बल (एसएसबी) को जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवं डीएसपी वसन्त गौतमले जानकारी दिए ।
इँटाभट्टा सञ्चालक मोहम्मद मुजामिलका अनुसार रासन तथा अन्य खर्च व्यवस्थापन गर्ने भन्दै भारतीय ठेकेदार मोहम्मद नासिर चार दिनअघि भारु ६ लाख लिएर सम्पर्कविहीन भएका थिए । त्यसपछि इँटाभट्टामा काम गर्न आएका उनीहरू अलपत्र परेका थिए ।
आउँदो असारसम्म इँटाभट्टामा काम गर्ने गरी भारतको मुरादाबादबाट आश्रित परिवारसहित कामदार ल्याइएको थियो । ठेकेदार एक्कासि सम्पर्कविहीन भएपछि इँटाभट्टा सञ्चालकले प्रहरीलाई जानकारी गराएका थिए ।
डीएसपी गौतमका अनुसार कामदार ल्याएर अलपत्र पार्ने भारतीय ठेकेदारको खोजी भइरहेको छ । घटनाबारे थप अनुसन्धानसमेत अघि बढाइएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, असोज १९, २०८३